‘कोरोना उपचारमा प्रभावहीन’ भनिएको औषधि आयात–विक्री गर्न तीन कम्पनीलाई सरकारको अनुमति


१ कार्तिक २०७७, शनिबार
remdi

काठमाडौं, १ कार्तिक । अहिलेसम्म कोरोना (कोभिड–१९) भाइरस संक्रमण उपचारका लागि कुनै औषधि बनिनसकेको बताइरहेको सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले समेत ‘कोरोना उपचारमा प्रभावहीन’ ठहर गरेको औषधि आयात विक्रीका लागि तीन कम्पतीलाई अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका बिरामीमा प्रयोग गरिने रेम्डिसिभिर औषधि आयात र विक्रीका लागि तीन कम्पनीलाई अनुमति दिएको हो ।

नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रीका लागि अनुमति दिइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेडलाई औषधि आयात र विक्रीको अनुमति दिइएको जनाएको छ ।

ko

यस्तै भारतको हेट्रो ल्याब्स् लिमिटेडलाई पनि रेम्डिसिभिर आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो । भारतलाई रेम्डिसिभिर औषधि आयात तथा बिक्रीका लागि सूचीकृत गरिएको मन्त्रालयले जनाएको छ ।

रेम्डिसिभिर औषधि प्रयोग गरिरहेका कोभिड १९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा माथि उल्लेखित सूचीकृत फर्म र फार्मेसीमा सम्पर्क राख्नुपर्ने पनि मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । रेम्डिसिभिर नेपालमा क्लिनिकल ट्रयालका रुपमा प्रयोग भएको औषधि समेत हो ।

डब्ल्युएचओ भन्छ–कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’
विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।

सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा अस्पतालमा उपचाररत बिरामीलाई कुनै खास प्रभाव नपारेको निष्कर्ष निकालेको छ ।

३० देशमा गरिएको सो बृहत् अध्ययनमा विश्वका चार सय अस्पतालका ११ हजार बिरामी समेटिएका थिए । यो अध्ययनअन्तर्गत यी औषधिले समग्र मृत्युदर, भेन्टिलेटरमा उपचारको प्रभाव तथा अस्पताल बसाइ अवधिजस्ता विषयलाई समेटिएको थियो ।

यो अध्ययनमा विश्वका १३ सय चिकित्सक सहभागी थिए । ‘विश्वको सबैभन्दा ठूलो रेन्डमाइज्ड कन्ट्रोल ट्रायल अध्ययनले यी औषधिको प्रभावकातिरताबारे ठोस प्रमाण दिएको छ, विश्व स्वास्थ्य संगठनद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

सोलिड्यारिटी थेरोप्युटिक्स ट्रायल नाम दिइएको सो अध्ययनको अन्तरिम नतिजा मेडिकल जर्नलमा प्रकाशनका लागि समीक्षा भइरहेको पनि डब्लुएचओले जनाएको छ । डब्लुएचओले यो बृहत् अध्ययनले महामारीका बेला पनि औषधिको प्रभावकारिताको विषयमा अन्तर्राष्ट्रिय अध्ययन गर्न सकिने प्रमाणित गरेको बताएको छ ।

यो अध्ययनको प्रारम्भिक नतिजा आएपछि विश्वभर यसको चर्चा शुरु भएको छ । ‘डब्लुएचओको बृहत् अध्ययनले कोभिड–१९ उपचारमा प्रयोग भएका रेम्डेसिभिर र इन्टरफेरोनको हावा खुस्किएको छ,’ विश्वको प्रमुख एकेडेमिक मेडिकल जर्नल साइन्सको अनलाइन संस्करणमा शुक्रबार प्रकाशित समाचारको शीर्षकमा भनिएको छ ।

सो अनलाइन संस्करणलाई आफ्नो प्रतिक्रिया दिँदै डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले भनेकी छन्, ‘रोग निको पार्ने औषधि हाम्रो चाहना हो । नतिजाबारे ज्ञानै नभई औषधि प्रयोगलाई निरन्तरता दिनुभन्दा औषधिले काम गरेको छ–छैन, जानकारी हुनु आवश्यक छ ।’ उनी सो प्रारम्भिक अध्ययन प्रतिवेदनको सहलेखिका समेत हुन् ।

सो जर्नलले बहुप्रतीक्षित उक्त अध्ययनको नतिजा ‘निराशाजनक’ रहेको जनाएको छ । तर वैज्ञानिकहरूले यो बृहत् अध्ययनले हाल प्रयोगमा आएका चार औषधिबारे थप प्रस्ट पारेको भनेर प्रशंसा गरेका छन् । ‘मृत्युदर घटाउन हाल प्रयोग भएका कुनै पनि औषधिले खास प्रभाव नदेखाउनु निराशाजनक हो । तर यसले ठूलो स्तरको अध्ययन हुनु जरुरी छ भन्ने प्रमाणित गरेको छ,’ बेलायतस्थित रिसर्च च्यारिटीका निर्देशक जेरमी फरारले सो जर्नललाई भनेका छन् ।

डब्लुएचओको संयोजनमा भएको बृहत् अध्ययनले अस्पतालमा यो औषधि प्रयोग गरेका र नगरेका बिरामीको मृत्युदरमा खास फरक नभएको देखिएको छ । अध्ययनमा रेम्डिभिसिरबाट उपचार गरिएका २७ सय ४३ बिरामीमध्ये ११ प्रतिशतको मृत्यु भएको छ भने औषधि उपयोग नगरेका सोही संख्याका अन्य बिरामीको मृत्युदर पनि ११ दशमलव २ प्रतिशत रहेको पाइयो ।

अध्ययनको नतिजाबारे अमेरिकी अनुसन्धान संस्था स्क्रिप्स रिसर्च ट्रान्सलेसनल इन्सिच्युटका निर्देशकले सो जर्नललाई भनेका छन्, ‘यो अध्ययन प्रतिवेदन रेम्डेसिभिरको पक्षमा छैन । हाइड्रोक्सिक्लोरोक्विन जस्तो पुरै असफल त भन्न नमिल्ला तर शुरुमा आशा गरिए अनुरूप छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७