अजरबैजान-आर्मेनिया युद्ध : क्षेप्यास्त्रले लाग्दा १२ को मृत्यु ४० घाइते


१ कार्तिक २०७७, शनिबार
dafc9805e2757e57f5041dd8ccd9394c w1000 h500 cp

काठमाडौं, १ कार्तिक । अजरबैजान र आर्मेनियाबीच हालै मात्र युद्धविराम गर्ने र विवाद समाधान गर्ने विषयमा सहमति भएको थियो ।

तर सम्झौता भएको केही दिनमै दुवै देश पुनः युद्धमा होमिएका छन् । अधिकारीहरुका अनुसार अजरबैजान र आर्मेनियाबीचको युद्धमा शनिबार क्षेप्यास्त्र प्रहार भएको छ । क्षेप्यास्त्रले घरहरुमा लाग्दा शनिबार १२ जनाको मृत्यु हुनुको साथै ४० जना घाइते भएको बताइएको छ ।

नागोर्नो–काराबाख क्षेत्रको स्वामित्वको विषयलाई लिएर यतिबेला दुई देशबीच युद्ध भड्किएको छ । शनिबार अजरबैजानको गाजा र मिनगिसिभर भन्ने क्षेत्रमा आर्मिनियाको भूमिबाट क्षेप्यास्त्र प्रहार भएको भोइस अफ अमेरिकाले जनाएको छ ।

अजरबैजानको रक्षामन्त्रालयका अनुसार आर्मिनियाको दुई क्षेत्रबाट क्षेप्यास्त्रहरु प्रहार भएका हुन् । आर्मिनियाबाट क्षेप्यास्त्र प्रहार हुँदा २० घर ध्वस्त बनेको बताइएको छ । गत सेप्टेम्बर २७ यता जारी द्वन्द्वमा ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

के हो नागोर्नो–काराबाख विवाद ?
नागोर्नो–काराबाख ४४ सय बर्ग किलोमिटरमा फैलिएको इलाका हो । यहाँ आर्मिनियाका इसाई र मुस्लिम तुर्क बसोबास गर्दछन् ।

सोभियत संघको अस्तित्वको दौरान यस क्षेत्र अजरबैजान भित्रको एक स्वायत्त क्षेत्र बनेको थियो । अन्तर्राष्ट्रियस्तरमै यसलाई अजरबैजानको हिस्साको रुपमा चिनिन्छ । तर यहाँ अधिकतम रुपमा आर्मिनियाका नागरिक बस्छन् ।

दुई देशले यस भूमिलाई आफ्नो भएको दाबी गर्दछन् । सन् १९८० देखि सन् १९९० मा यस क्षेत्रका लागि दुई देशबीच युद्ध नै भएको थियो । सो क्रममा ३० हजार मानिस मारिनुका साथै १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए । सन् १९९४ को युद्धविरामपछि पनि यहाँ गतिरोध जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७