कर्णालीका नेतालाई ओलीले भने, ‘तपाईहरु फर्कनुस्, चाँडै निर्णय सुनाउँछौं’

पार्टी इन्चार्ज जनार्दन शर्मा अनुपस्थित


१ कार्तिक २०७७, शनिबार
pM KP SHARMA Oli

काठमाडौं, १ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई कर्णालीको विवाद केन्द्रले मिलाउने बताएका छन् ।

शनिबार दिउँसो कर्णालीका नेताहरुलाई सरकारी निवास बालुवाटारमा बोलाएर विवाद पार्टी केन्द्रले टुंग्याउने र दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिएका हुन् । ‘तपाईहरुले हामी दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्नुहोस् । अब चाँडै हामी बसेर त्यहाँको विवाद मिलाउँछौं’, प्रधानमन्त्री ओलीलाई उदृत गर्दै सहभागी एक नेताले सुनाए ।

उनका अनुसार, ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताएका थिए । यता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बालुवाटार गएनन् ।

उनले कर्णालीका दुवै पक्षका नेताहरुसँग कुरा गरिसकेकाले बालुवाटार नआउने सन्देश पठाएका थिए । प्रचण्डले बिहीबार र शुक्रबार दुई पक्षका नेताहरुलाई बोलाएर कुरा सुनेका थिए भने बरिष्ठ नेता माधवकुमार नेपालले पनि कर्णालीको नेताहरुबाट जानकारी लिएका छन् ।

यस्तै कर्णालीका इन्चार्ज जनार्दन शर्मा भने स्वास्थ्यमा समस्या भएकाले आउन नसक्ने जानकारी पठाएका थिए । बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सहइन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आ–आफ्नो धारणा राखेका थिए ।

‘सबैको कुरा सुनेपछि प्रधानमन्त्रीले अब तपाईहरु कर्णालीतिरै फर्कनुहोस् । हामी चाँडै निर्णय सुनाउँछौ भन्नुभयो’, ती नेताले भने । नेकपा संसदीय दलका नेता शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको विवाद छताछुल्ल भएको थियो ।

तर माधवकुमार नेपाल खेमाका नेताहरु अविश्वासको प्रस्तावबाट पछि हटेपछि शाहीको मुख्यमन्त्री पद भने जोगिसकेको छ । नेपाल समूहलाई थप तीन मन्त्री दिने मुख्यमन्त्री शाहीले सहमति जनाएका छन् भने कर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७