नेकपामा बेथिति : कार्यकर्तामा असन्तुष्टि


२ कार्तिक २०७७, आईतवार
kp oli prachanda

काठमाडौं, २ कार्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र सत्ताको पछाडि दौडिरहँदा पार्टी एकताको बाँकी काम छायाँमा पर्न थालेको भन्दै आम कार्यकर्तामा असन्तुष्टि बढ्न पुगेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा खासै संवेदनशील बन्न नसकेको भन्दै अध्यक्षद्वयलाई यस विषयमा गम्भीर भएर लाग्नुपर्ने पार्टी कार्यकर्ताको सुझाव छ ।

पार्टीका विभिन्न कमिटीले एकताको बाँकी काम टुंगो लगाउन निर्णय गरे पनि नेतृत्वमा रहेकाहरूले कार्यान्वयन नगर्दा एकताका बाँकी काम ओझेलमा परेको हो । नेकपाभित्र देखिने गरेको एकपछि अर्को किचलोका कारण पार्टी एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी ओझेलमा पर्दै गइरहेको छ । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता घोषणा भएको थियो ।

पार्टी एकता घोषणा कार्यक्रममै शीर्ष नेताले तीन महिनाभित्रैमा पार्टी एकताका सम्पूर्ण काम टुंगो लगाउने उद्घोष गरेका थिए । तर, पार्टी एकता भएको अढाई वर्ष पूरा भए पनि एकताको बाँकी काम टुंगो लाग्न सकेको छैन् ।

पार्टी केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीले विभिन्न समयमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा निर्णय गरे पनि ती निर्णयहरू त्यसै थन्कँदै आएका छन् ।

‘पार्टी बैठकले एकताको बाँकी काम टुंगो लगाउन निर्णय गर्छ । तर नेतृत्वकै बीचमा सधंै किचलो नै भइरहेका कारण एकताको काम ओझेलमा पर्दै गइरहेको छ,’ नेकपा सचिवालयका एक सदस्यले भने, ‘एकताले अन्तिम रूपमा पाउन नसक्दा हजारांै कार्यकर्ता जिम्मेवारीविहीन भइरहेका छन्, जुन दुःखद हो ।’

सत्तारूढ दलका साथै सबैभन्दा ठूलो दल भएका कारण पार्टीमा बहस हुनु राम्रो भए पनि बैठकका निर्णय कार्यान्वयन गर्नमा नेतृत्व सचेत हुनुपर्ने ती सदस्यले बताए । नेतृत्वले चासो नदिएकै कारण पार्टी एकताका काम ओझेलमा परेको उनको दाबी छ ।

पछिलो समयमा सम्पन्न सचिवालय बैठकपश्चात् अध्यक्षद्वय ओली र दाहालबीच पटक पटक छलफल भएको छ । तर, ती छलफल पार्टी एकताका काम समयमै टुंग्याउने विषयमा नभएको नेकपा स्रोतको दाबी छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, नियुक्तिलगायतकै विषयमा मात्रै छलफल केन्द्रित भएकाले पार्टी एकताको काम ओझेलमा परेको हो ।

सरकार पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिसहित पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा अध्यक्षद्वयका बीचमा निरन्तर छलफल जारी रहेको भए पनि सहमति जुट्न नसकेको स्रोतको दाबी छ ।

गत ६ असोजमा सम्पन्न सचिवालय बैठकले पार्टी एकताका बाँकी काम टुंगो लगाउने निर्णय गर्दै ठोस प्रस्ताव तयारी गर्नका लागि अध्यक्षद्वय ओली र दाहालका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो । तर, सचिवालय निर्णयअनुसार तोकिएकै समयभित्रमा ठोस प्रस्ताव तयार गर्न सकिएको छैन ।

सचिवालयको निर्णयअघि केन्द्रीय कमिटीले समेत एकताको बाँकी काम टुंगो लगाउन १५ दिनको समय दिएको थियो । गत १५–१९ माघमा बसेको केन्द्रीय कमिटी बैठकले एकताको बाँकी काम टुंगो लगाउन निश्चित समया अवधि दिए पनि त्यसको समेत पालना हुन सकेको थिएन ।

पछिल्लो पटक सम्पन्न स्थायी कमिटी बैठकले समेत असोज महिनाभित्रमा पार्टी एकताका बाँकी काम टुंगो लगाउन निर्णय गरेको थियो । तर, असोजमा ओली र दाहालबीच भएको छलफलले कुनै निष्कर्ष निकाल्न सकेन् ।

नेकपाले अहिले पोलिटब्युरो कमिटी गठनका साथै विभिन्न विभाग, आयोगहरूलाई पूर्णता दिनुपर्नेछ । ३२ विभाग, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्लगायतका कमिटीले पूर्णता पाउन सकेका छैनन् ।

ती संगठनले प्रमुख, उपप्रमुख, सचिवहरू पाए पनि सदस्य तोक्न बाँकी छ । नेकपा केन्द्रीय सदस्य एवं प्रवास समन्वय कमिटीका सचिव श्रीप्रसाद साहले यी संगठनले छिटै नै पूर्णता पाउने विश्वास व्यक्त गरे । नेतृत्वका बीचमा छलफल चलिरहेको बताउँदै उनले केही दिनभित्रमै टुंगो लाग्ने बताए । यी संगठनले पूर्णता पाउन नसक्दा काम गर्न असजिलो भएको अनुभव उनले सुनाए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७