दसैंमा पनि सस्तोमै सजिलै पाइन्छ हवाई टिकट, पहाडी तथा हिमाली क्षेत्रमा एयरलाइन्सहरूले यात्रु नै पाएनन्


२ कार्तिक २०७७, आईतवार
nepal airlines

काठमाडौं, २ कार्तिक । कोभिड–१९ का कारण दसैँमा पनि हवाई यात्रु बढ्न नसक्दा सस्तोमै टिकट बिक्री गर्न एयरलाइन्स कम्पनीहरू बाध्य भएका छन् । विगतका वर्षहरूमा दसैं मान्न घर जानेहरूको भिड बढ्दा महँगो शुल्कमै पनि हवाई टिकट पाउन सकस हुन्थ्यो ।

तर, यो वर्ष दसैँको रौनक नै हराएको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् । आइतबार काठमाडौँबाट पोखरा जानका लागि १९ सय ९५ रुपैयाँमै बुद्ध एयरले टिकट उपलब्ध गराएको छ ।

त्यस्तै, यती एयरलाइन्सले २ हजारमै पोखरामा उडान गरिरहेको छ । सामान्य समयमा पनि पोखरा जानका लागि ४ हजार ५ सय रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको थियो । चाडबाडकै लागि अग्रिम टिकट बुकिङ गर्ने यात्रु नभएपछि उडान थप गर्ने योजना पनि नरहेको बुद्ध एयरका प्रवक्ता रूपेश जोशी बताउँछन् । ‘दसैं नजिकिए पनि खासै यात्रु नबढेकाले दुई–चार उडान मात्रै थप हुनेछ,’ जोशीले भने ।

आइतबार काठमाडौँबाट विराटनगर हवाई टिकट भाडा २८ सय मात्रै रहेको छ । विगतका दसैँमा यात्रुले ८ हजारभन्दा बढी खर्च गर्नुपर्ने हुन्थ्यो । तर, अहिले काठमाडौं–विराटनगर बुद्धले २८ सय, यतीले २९ सय ९५ र श्री एयरलाइन्सले ३ हजारमै उडान गरिरहेका छन् ।

त्यसैगरी, भद्रपुर जान ३ हजार ३ सय रुपैयाँ मात्रै हवाई भाडा रहेको छ । अन्य समयमा भद्रपुरका लागि ९ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्थ्यो । त्यस्तै, जनकपुरका लागि २ हजार ३ सय, नेपालगन्जका लागि ३ हजार ३ सय, धनगढीका लागि ५ हजार मात्रै रहेको छ । अन्य समयमा धनगढीको भाडा ११ हजार २ सय ५० रुपैयाँसम्म रहने गथ्र्याे । त्यस्तै, भरतपुर २ हजार ४ सय, भैरहवा पनि २ हजार ४ सय ९५ रुपैयाँ मात्रै हवाई भाडा रहेको छ ।

यता पहाडी तथा हिमाली क्षेत्रमा उडान गर्ने एयरलाइन्सहरूले अझै यात्रु नै पाउन सकेका छैनन् । केही गाउँपालिका तथा जिल्लाहरूले पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्दा पनि हिमाली क्षेत्रमा यात्रु बढ्न सकेका छैनन् । अहिले लुक्ला, डोल्पा, मनाङलगायत क्षेत्रमा जान पिसिआर अनिवार्य गरिएको छ ।

शनिबारदेखि केही चाप

शनिबारदेखि भने यात्रुको चाप बढेपछि हवाई कम्पनीले केही उडान थप्ने तयारी गरेका छन् । यात्रुको संख्या केही बढेपछि बुद्ध, यती, श्रीले उडान संख्या केही थपको तयारी गरेका छन् । त्यस्तै, सौर्य एयरलाइन्सले पनि उडानको तयारी गरेको छ । श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरका अनुसार आइतबारदेखि केही चाप बढे पनि खास दसैँको प्रभाव परेको छैन ।

दैनिक ३२ वटा उडान गर्दै आएको बुद्ध एयरले आइतबारदेखि तीनवटा उडान थपेको छ । कम्पनीले विराटनगर, भद्रपुरलगायत विभिन्न गन्तव्यमा तीनवटा उडान संख्या थपेर दैनिक ३५ वटा पु¥याएको छ । यती एयरलाइन्सले पनि दसैंका लागि थप ५ उडान थप्ने भएको छ । यतीले अहिले दैनिक १९ देखि २४ उडान गर्ने तयारी गरेको जनाएको छ ।

पर्वतारोहण र हिमाल आरोहणमा आउने १० पर्यटकलाई अनुमति

शनिबारदेखि नै केही समूह हिमाल आरोण र पर्वतारोहणका लागि आउन थालेपछि पर्यटन विभागले अनअराइभल भिसा दिनका लागि अध्यागमन विभागमा सिफारिस गरेको छ । विभागले मंगलबारदेखि नेपाल भ्रमणमा आउन लागेका १० जना विदेशीलाई अनअराइभल भिसा दिनका लागि शनिबार नै पत्राचार गरेको छ ।

hawai yatra2020 10 18 06 12 34

मंगलबार अमेरिकाबाट पाँच जना, कतार, बेलायत, इटली, जोर्डन र युनाइटेड अरब इमिरेट्सलगायत प्रत्येक मुलुकबाट एकजनाका दरले अनअराइभल भिसा उपलब्ध गराउनका लागि पत्राचार गरेको हो ।

विभागका अनुसार अमेरिका र कतारबाट आउन लागेका पर्यटकले ६ हजार ८ सय १४ मिटर उचाइका हिमाल आरोहणका लागि ४५ दिनसम्मका लागि भ्रमण अनुमतिको समयावधि दिइएको जनाएको छ ।

हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनको व्यवस्थापनमा गर्न लागिएको यो हिमाल आरोहणका लागि अक्टोबर २७ तारिखदेखि ४५ दिनसम्म समयावधि छुट्याइएको छ ।

युके, इटली, जोर्डन, युनाइटेड अरब इमिरेट्सलगायत मुलुकबाट आउने पर्यटकले ७ हजार १ सय २६ मिटर अग्लो हिमाल आरोहण गर्ने भएका छन् । ट्याग नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनले व्यवस्थापन गरेको हिमाल आरोहणका लागि नोभेम्बर १ तारिखदेखि ६० दिनसम्मका लागि समयावधि छुट्याइएको विभागले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७