कोरोनाबाट बिराटनगर र धरानमा तीन जनाको मृत्यु


२ कार्तिक २०७७, आईतवार
bp kovid

धरान, २ कार्तिक । कोरोना भाइरस संक्रमणबाट मोरङको बिराटनगर र सुनसरीको धरानमा थप तीन जनाको ज्यान गएको छ ।

बिराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक–एक जनाको मृत्यु भएको हो ।

शनिबार राति बिराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । संक्रमित पुरुषको शनिबार राति १०ः५५ बजे मृत्यु भएको हो । ती पुरुषलाई असोज १३ गते कोरोना पोजेटिभ देखिएको थियो ।

बिराटनगरकै एक वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित रहेका बिराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको आइतबार बिहान करिब ९ बजे मृत्यु भएको हो ।

कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । वृद्धलाई उपचारका लागि नोबेलको कोभिड अस्पतालमा असोज २५ गते भर्ना गरिएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्ध पुरुषको पनि मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–९ का ७९ वर्षीय कोरोना वृद्धको उपचारका क्रममा आइतबार बिहान ३ः०५ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनमा मुटु सम्बन्धी पुरानै समस्या थियो ।

उनलाई २६ असोजमा कोरोना पोजेटिभ देखिएपछि भोलिपल्ट उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७