अब गाडी चढ्दा फेस शिल्ड अनिवार्य, बढी भाडा लिए कडा कारबाही


२ कार्तिक २०७७, आईतवार
Face shield

काठमाडौं, २ कार्तिक । कोरोना संक्रमण तीब्र बनेसँगै सरकारले सार्वजनिक सवारी साधनमा सुरक्षामा कडाइ गर्न थालेको छ ।

सरकारले लामो तथा मध्यम दूरीमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) अनिवार्य गरेको छ । कोरोना भाइरसको जोखिमसँगै दशैंमा ओहोरदोहोर गर्नेको संख्या पनि बढ्ने भएकाले फेस शिल्ड अनिवार्य लगाउन यातायात व्यवस्था विभागले आग्रह गरेको हो ।

विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले लामो तथा मध्यम दूरीमा यात्रा गर्दा यात्रु आफैले फेस शिल्डको व्यवस्था गर्नुपर्ने निर्णय भएको जानकारी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन यात्रु आफै सचेत हुनुपर्ने उनले बताए ।

यस्तै सार्वजनिक बसमा दुवै सिटमा यात्रु राख्न पाउने निर्णय भएसँगै पुरानै भाडादर लागू हुने उनले स्पष्ट पारेका छन् । दुवै सिटमा यात्रु राख्न पाइने भएकाले पुरानै भाडादर लागू गरिएको विभागका सूचना अधिकारी भुसालले बताए ।

यसअघि जे–जस्तो भए पनि अबदेखि पुरानै भाडा लागू हुने र कोही कसैले बढी भाडा लिए कानुनअनुसार कडा कारबाही हुने उनले बताए । बढी भाडा लिए यात्रुले ट्राफिक प्रहरीको पैसा नलाग्ने १०३ नम्बरमा सम्पर्क गर्न सक्नेछन् । ट्राफिक प्रहरीसँग समन्वय गरेर बढी भाडा लिने, यात्रुलाई ठग्नेलाई कारबाही हुने विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७