कैलाली असई हत्या प्रकरण : शंकास्पद ११ जना पक्राउ, वेपत्ता प्रहरीको खोजी जारी


२ कार्तिक २०७७, आईतवार
kailali

कैलाली, २ कार्तिक । कैलालीमा गस्तीमा निस्किएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या र हवल्दार रामबहादुर साउद प्रकरणमा प्रहरीले शंकास्पद ११ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न आशंका गरिएका ११ जनालाई पक्राउ गरिएको भए पनि उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेका व्यक्तिहरु त्यस क्षेत्रबाट सामान तस्करी गर्ने र विकसँग असन्तुष्टहरु रहेको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । अनुसन्धान चलिरहेका कारण अहिले पक्राउ परेकाहरुको नाम सार्वजनिक नगरिएको प्रहरीले बताएको छ ।

मोहना नदीमा फेला परेका मृतक विकको शव निकालिएको छ । उनको घाँटी रेटिएको अवस्थामा शव फेला परेको जानकारी दिंदै सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले भने, ‘पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै विस्तृत रुपमा बताउन सकिने अवस्था छ ।’ असई विकले अस्थायी प्रहरी बिट, जुगेडाको नेतृत्व गरिरहेका थिए ।

विकसँगै शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै भेटिएका छैनन् । नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको छ, नेपाल प्रहरीको टोली पनि खोजीमा खटिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७