सञ्चार क्षेत्रका समस्या समाधानमा केन्द्रित हुन्छु : मन्त्री गुरुङ


२ कार्तिक २०७७, आईतवार
par

काठमाडौं, २ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने जनाएका छन् ।

मन्त्री निवास पुल्चोकमा महासङ्घका पदाधिकारीसँग आज भएको भेटमा उनले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताउँदै प्रेस स्वतन्त्रताको संरक्षण, प्रवर्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने स्पष्ट गरे ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङलाई सफल कार्यकालका लागि शुभकामना दिँदै सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारबाट हुनुपर्ने पहलबारे महासङ्घको धारणा प्रस्तुत गरे ।

कोभिड १९ पछिको अवस्थामा सरकार, श्रमजीवी पत्रकार र मिडिया सञ्चालकबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने उल्लेख गर्दै महासङ्घले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आमसञ्चार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, सञ्चार क्षेत्रमा पुनःसंरचना गरी सघीयता र समावेशिताको कार्यान्वयन गर्न आग्रह गरेको थियो । मन्त्री गुरुङले गत असोज २९ गते सो मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७