तस्करको निशानामा बालबालिका, साउन र भदौमा मात्र ३३६ बेपत्ता

साउनमा ७४ र भदौमा ४८ बालबालिका भेटिए, दुई सय १२ जनाको छैन अत्तोपत्तो


प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार ००:००

काठमाडौं, ३ कार्तिक । राम्रो काम, आकर्षक कमाइ । चिनेजानेकै व्यक्तिले गरेको अफरले नवलपरासी र दाङका १९ किशोरलाई लोभ्यायो । धेरै खर्च नलाग्ने र राम्रो कमाइ हुने आश्वासन पाएपछि ती किशोर नयाँदिल्ली जान तयार भए ।

दलालले १२ असोजमा रातारात उनीहरूलाई सीमापार गराए । दलालले १३ देखि १७ वर्षका नेपाली किशोरलाई पारि पुर्‍याएर खाजा खुवाउँदै थिए । नेपाल आउँदै गरेका एक यात्रुले देखेर उनीहरूबारे ‘आफन्त नेपाल’ नामक संस्थामा खबर गरिदिए ।

लगत्तै भारतीय प्रहरीले सूचना पायो । दिल्लीस्थित महिला आयोगको सहयोगमा आफन्त नेपालका कर्मचारीले किशोरहरूलाई लैजाँदै गरेका दलाललाई पिछा गरे । दलाल समूह उत्तरप्रदेशको गाजियावादबाट पक्राउ पर्‍यो ।

दिल्ली महिला आयोग र आफन्त नेपालको जाहेरीमा भारतीय अदालतमा दलाल समूहविरुद्ध मुद्दा चलिरहेको छ । दलालबाट जोगाइएका नवलपरासी पूर्व र पश्चिमका १८ तथा दाङका एक किशोरलाई भारतीय प्रहरीको निगरानीमा बालगृहमा राखिएको छ । उनीहरूमध्ये अधिकांश विपन्न र सीमान्तकृत समुदायका छन् ।

यस्तै, गत चैत दोस्रो साता कास्कीकी १७ वर्षीया किशोरी चिनजानकी एक महिलाको घरमा गएकी थिइन् । ती महिलासँगै बसेर उनले खाजा खाइन् । त्यसलगत्तै उनी बेहोस भइन् । होस खुल्दा उनी अन्जान सहरको सडकमा थिइन् ।

भारतीय प्रहरीको सहयोगमा उनलाई भारत राजस्थानबाट त्यही साता उद्धार गरियो । ‘पहिले चक्कर लाग्यो, त्यसपछि बेहोस भएँछु, होस खुल्दा अन्जान सहरको सडकमा रहेँछु,’ किशोरीले उद्धार टोलीसँग भनेकी छिन् । उनलाई कुन उद्देश्यले राजस्थान पुर्‍याइयो र अलपत्र छाडियो भन्ने खुलेको छैन । उनले अझै घर आउन पनि पाएकी छैनन् ।

कोरोना महामारी र लकडाउनको समयमा उनीजस्तै पर्वतकी १४ वर्षीया र बाँकेकी १७ वर्षीया किशोरीलाई बिहार पटनामा सडकबाटै उद्धार गरिएको छ । भारत कानपुरबाट उद्धार गरिएकी अर्की १५ वर्षीय किशोरीको त अहिलेसम्म नेपालको ठेगानासमेत खुल्न सकेको छैन ।

कोभिड–१९ महामारीका कारण सीमामा सुरक्षाकर्मीको पहरेदारी कमजोर बनेको मौकामा मानव तस्करको सक्रियता बढेको यी केही उदाहरण हुन् । विद्यालय बन्द भएपछि घर, गाउँमा फुर्सदिला बनेका बालबालिका मानव तस्करको निसानामा परेका छन् ।

चैतयता ३९ को उद्धार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ११ चैतमा लकडाउन सुरु भएयता मानव तस्करको फन्दामा परेका ३९ जनाको भारतमा र अन्य देशमा उद्धार गरिएको छ । तीमध्ये भारतमा १९ किशोर तथा किशोरी र महिला १३ गरी ३२ जना छन् ।

मानव तस्करको फन्दाबाट बचाइएका तीनजनालाई मात्रै स्वदेश फर्काइएको छ । ‘राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन–०७६’ ले नेपालमा वार्षिक करिब ३५ हजारजना बेचबिखनमा पर्ने गर्छन् । र, १५ लाखजना सधैँ जोखिममा रहेको आयोगको आकलन छ । नेपालबाट बेचबिखनमा पर्ने मुख्य गन्तव्य र मार्ग भारत नै हो ।

बेपत्ता ८० प्रतिशत बेचबिखनमा
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनअनुसार नेपाल मानव बेचबिखनको जोखिममा मात्रै छैन, गन्तव्य, मार्ग र स्रोत पनि मानिन्छ । यौन, बाध्यकारी श्रम, घरेलु कामदार र तेस्रो मुलुक लैजान नेपालबाट भारततर्फ मानव ओसारपसार हुँदै आएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पछिल्ला वर्षमा चीनतर्फ पनि जबर्जस्ती विवाह, यौनशोषण र व्यवसायका लागि नेपाली महिला र बालबालिकाको ओसारपसार हुन थालेको छ । भारतबाट म्यानमार, युरोप, अमेरिका र दक्षिण अफ्रिकासम्म पुर्‍याएको पाइएको प्रहरीको भनाइ छ ।

‘बेचबिखनको हिसाबले बालिबालिका सबैभन्दा बढी जोखिममा छन्, गरिबी, अशिक्षा र अन्य कारणले उनीहरूलाई दलालले फन्दामा पार्छन्,’ ब्युरोका प्रवक्ता एसपी अनुराग द्विवेदी भन्छन्, ‘दलालले बालबालिकालाई डर, धम्की, प्रलोभन र अपहरण गरेर सीमा कटाउने गरेका छन् ।’ मानव अधिकार आयोगको प्रतिवेदनअनुसार बेपत्ता ८० प्रतिशत बेचबिखनमा पर्ने गरेका छन् ।

बालअधिकारकर्मी प्रदिप्ता कादम्बरी भन्छिन्, ‘हराएकामध्ये धेरै बालिका छन्, यौन शोषण वा घरेलु श्रमिक, दुवैमा बालिका नै प्रयोग हुने गरेको पाइन्छ ।’

बाँकी ६ प्रतिशत निकृष्ट बालश्रम, दुई प्रतिशत वैदेशिक रोजगारी र १३ प्रतिशत मनोरञ्जन क्षेत्रबाट बेचबिखनमा पर्ने गरेका छन् । बर्सेनि बेपत्ता भएका धेरै बालबालिका फेला पर्दैनन् । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार ०६३ यता बेपत्ता भएका १२ हजार तीन सय २७ बालबालिका फेला परेका छैनन् । उनीहरूमध्ये ८० प्रतिशत अर्थात् नौ हजार ६ सय बालबालिका बेचबिखनमा परेको अनुमान छ ।

परिषद्का अनुसार गत साउनमा मात्र एक सय ८२ बालबालिका हराए । भदौमा पनि एक सय ५४ जना बेपत्ता भए । तीमध्ये साउनमा ७४ र भदौमा ४८ बालबालिका मात्रै भेटिए । परिषद्ले उनीहरूलाई परिवारसँग पुनर्मिलन गरायो । तर, अझै दुई सय १२ जनाको अत्तोपत्तो छैन ।

बेपत्ता हुनेमा बालकभन्दा बालिका अधिक
त्यसरी बेपत्ता हुनेमध्ये बालिकाको संख्या झन्डै दोब्बर छ । भूकम्पपछि धेरै बालबालिका बेपत्ता भए । आव ०७२–७३ मा ६ सय बालक र नौ सय दुई बालिका बेपत्ता भए । तीमध्ये तीन सय ९७ बालक र ६ सय ९७ बालिका अझै भेटिएका छैनन् ।

आव ०७३–७४ मा एक हजार ४७ बालक र एक हजार सात सय २५ बालिका बेपत्ता भए । भूकम्पपछि धेरै बालबालिका बेचबिखनको सिकार भएको पाइएको बालअधिकारकर्मी प्रदिप्ता कादम्बरी बताउँछिन् । ‘हराएकामध्ये धेरै बालिका छन्, यौनशोषण वा घरेलु श्रमिक, दुवैमा बालिका नै प्रयोग हुने गरेको पाइन्छ,’ उनी भन्छिन् ।

बेचबिखनमा परेका बालबालिका, महिला र पुरुषमध्ये अधिकांश निरक्षर छन् । कतिपय सामान्य साक्षर छन् भने अधिकांश अविवाहित छन् । ‘गरिबी, सूचना अभाव, लैंगिक हिंसा, महत्वाकांक्षाजस्ता कारणले बालबालिका र महिला बेचबिखनको जोखिममा छन्,’ कादम्बरी भन्छिन्, ‘बेचबिखन न्यूनीकरण गर्न सरकारले प्रभावकारी रणनीति बनाउन सकेको छैन ।’

सरकारले देशभर खोजतलास नम्बर १०४ सञ्चालन गरी हराएका बालबालिकाको निःशुल्क उजुरी लिने गर्छ । ७७ वटै जिल्लामा नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र स्थापना भएको छ । हराएको उजुरी दिने कतिपयले परिवारको सम्पर्कमा आएपछि जानकारी नदिने भएकाले पनि बेपत्ता संख्या बढी देखिने गरेको परिषद् प्रवक्ता रामबहादुर चन्द बताउँछन् ।

मानव अधिकार आयोगले पनि हराएका बालबालिकाहरू कुलतमा फस्ने, श्रम शोषण, यौन दुव्र्यवहार र बेचबिखनमा पर्ने गरेको निष्कर्ष दिएको छ । ‘साथीको लहैलहै, बिठ्याइँ गर्ने स्वभावका, कुलतमा फसेका, श्रम शोषण, यौन दुव्र्यवहार भोगेका, बालविवाहमा परेका र बसाइँसराइँ भइरहने परिवारका बालबालिका हराएका छन्,’ आयोगको प्रतिवेदनमा उल्लेख छ, ‘उनीहरूमाथि श्रमशोषण वा यौन शोषणको जोखिम झन् ठूलो हुन्छ, त्यो उनीहरूले बुझेका हुँदैनन् ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्