कोरोनाबाट अस्पताल सञ्चालकसहित थप सात जनाको मृत्यु


३ कार्तिक २०७७, सोमबार
koshi hospital

मोरङ, ३ कार्तिक । कोरोना भाइरस संक्रमणबाट एक अस्पताल सञ्चालकसहित विराटनगर, सुनसरी, चितवन र पर्वतमा गरी थप सात जनाको मज्यान गएको छ ।

विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित थप चार जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो ।

मृतकमध्ये एक जना अस्पताल सञ्चालक हुन् । न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालक हुन् । यसैगरी नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको आज र विराटनगर–३ का ६६ वर्षीय पुरुषको गएराति मृत्यु भएको नोबेल मेडिकल कलेजले जनाएको छ ।

त्यसैगरी बिराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित एक महिलाको पनि ज्यान गएको छ । बिराटनगर–२ की ६० वर्षीया महिलाको आज मृत्यु भएको हो ।
यस्तै सुनसरीको धरान उपमहानगरपालिकाकी कोरोना संक्रमित ७० वर्षिय महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेकी उनको गएराति मृत्यु भएको हो । यस्तै चितवन मेडिकल कलेज (सीएमसी)मा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै कोरोना संक्रमण पुष्टि भएकी पर्वतकी एक महिलाको मृत्यु भएको छ । कुश्मा नगरपालिका–५ की ती महिलाको आइतबार साँझ घरमै मृत्यु भएको हो ।

श्वासप्रश्वास तथा निमोनियाको समस्या देखिएपछि गत २९ असोजमा पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारका लागि लगिएकी ४८ वर्षीया महिलामा कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा मेट्रोसिटीले आइतबार होम आइसोलेसनमा राख्न भन्दै घर पठाएको र आइतबारै राति उनको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिअनुसार बागलुङ नगरपालिका–१३ स्थायी घर भएकी २८ वर्षीया महिलाको कुश्मा नगरपालिका–५ मा आइतबार साँझ ७ बजे मृत्यु भएको हो ।
पर्वतमा कोरोना संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । पर्वतमा हालसम्म १३० जना कोरोना पोजिटिभ भएकोमा १२६ जना निको भइसकेका छन् । सक्रिय संक्रमित ४ जना रहेको डीसीसीएमसीका प्रवक्ता प्रविण भण्डारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७