मध्यपहाडी राजमार्ग : चार महिनामा ५० किमी कालोपत्रे गर्ने लक्ष्य, काम भने दुई किमी मात्र


३ कार्तिक २०७७, सोमबार
Bhojpur Kalopatree
फाइल फोटो

काठमाडौं, ३ कार्तिक । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको अधिकांश स्थानमा निर्माणको काम हुन सकेको छैन । कोभिड–१९ सङ्क्रमण फैलिरहँदा पालिकाले आफ्नो क्षेत्र बाहिरका व्यक्तिलाई प्रवेशमा गरेको कडाइका कारण अपेक्षाकृतरुपमा काम हुन नसकेको हो ।

यो आवको पहिलो तीन महिनामा भौतिक प्रगति न्यून मात्रै रहेको मध्यपहाडी सडक आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताए । उनका अनुसार पहिलो चौमासिकमा ५० किमी कालोपत्र गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म झण्डै दुई किमी मात्रै सडक कालोपत्र भएको छ ।

अबको एक महिना दशैं, तिहार, छठलगायत चाडपर्व भएकाले निर्माण गर्न अझै कठिन हुने उनले बताए । उनले भने, ‘पहिलो चौमासिकमा अपेक्षा गरेभन्दा धेरै कम मात्रै काम भएको छ ।’ एकातिर कामदार आफै पनि घर बाहिर जान त्रसित भएको र अर्कातिर सम्बन्धित पालिकाले आवतजावतमा कडाइ गरेकाले अधिकांश स्थानमा निर्माण अघि बढाउन नसकिएको प्रमुख केसीले बताए ।

अहिले पनि धेरै पालिकाले नयाँ मान्छे आउनै नदिने वा आइहालेमा दुई साता क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ । उनले भने, ‘मजदूर आफै पनि सकेसम्म घरपरिवार छाडेर काम गर्न चाहेका छैनन् ।’

आयोजनामा गत वर्ष कोभिड–१९ का कारण लक्ष्यभन्दा एक तिहाइ मात्रै कालोपत्र भएको थियो । तीन सय किमी कालोपत्रको लक्ष्य लिइएकामा ११३ किमी सडकमा कालोपत्र भएको थियो ।

गत वर्ष कालोपत्र गर्ने लक्ष्य लिएकोमा सडकमा आवश्यक सबै तयारी भइसकेकाले अहिले सहज अवस्था हुनासाथ कामले गति लिने पनि प्रमुख केसीले बताए । पहाडी क्षेत्रलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने सो आयोजना आगामी आव २०७९–८० मा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७