संसदीय छानबिन समितिको निष्कर्ष : सामाजिक विकास मन्त्रालय र अस्पतालको लापरबाहीले राजु सदाको ज्यान गयो


४ कार्तिक २०७७, मंगलवार
Raju Sada BW.jpg .2020 07 16

जनकपुरधाम, ४ कार्तिक । धनुषाको पर्साहीका राजु सदाको मृत्यु प्रकरणमा अस्पताल र प्रदेश २ को सामाजिक विकास मन्त्रालयको लापरबाही देखिएको छ । घटना अध्ययन गर्न गठित समितिले मन्त्रालय र अस्पतालको लापरबाहीले सदाको ज्यान गएको निष्कर्ष निकालेको छ ।

झाडापखाला लागेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएका हंसपुर नगरपालिका–७ पर्साहीका १५ वर्षीय सदाको २४ असारमा मृत्यु भएको थियो । यसको छानबिनका लागि प्रदेश सभाले नेकपाका सांसद रवीन्द्र बैठाको संयोजकत्वमा अध्ययन तथा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिमा चमेलीदेवी दास, सुरिताकुमारी साह, नरेश यादव र सावित्रीदेवी साह सदस्य रहेका थिए ।

सोमबार छानबिन समितिले प्रदेशका सभामुख सरोजकुमार यादवलाई अध्ययन तथा छानबिन प्रतिवेदन बुझाएको छ । समितिको प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुर, क्वारेन्टिन स्थल र सामाजिक विकास मन्त्रालयबाट लापरबाही भएको उल्लेख गरिएको छ ।

त्यस्तै, घटनाको सम्बन्धमा पटक–पटक जानकारी माग्दा वास्ता नगरेको, महामारीको वेला अस्पतालको व्यवस्थापकीय पक्षसमेत कमजोर रहेको र मानवीय स्वास्थ्य संवेदनशीलतामा समेत मन्त्रालयले ध्यान नदिएको प्रतिवेदनमा औंल्याइएको छ ।

प्रयोगशालाले समयमा रिपोर्ट नदिएकाले पनि सदाको उपचार प्रभावकारी रूपमा हुन नसकेको जनाएको छ । बिरामी आइसोलेसन बेडबाट झरेको भनिए पनि सिसिक्यामेरा बिग्रिएकाले कतिवेला स्वास्थ्यकर्मी पुगे भन्ने यकिन नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७