पूर्वगोर्खा सैनिकलाई दुर्लभ अवसर : बेलायती महारानीको प्रतिनिधिमा नियुक्त


४ कार्तिक २०७७, मंगलवार
Mani Kumar Rai

बेलायत। बेलायती सेनाका अवकाश प्राप्त मेजर मनिकुमार राई महारानी एलिजाबेथ द्वितीयको प्रतिनिधिमा नियुक्त भएका छन । बेलायतको स्थानीय स्तरमा बेलायती महारानीको प्रतिनिधि बन्ने अवसरलाई निकै दुर्लभ मानिन्छ । मेजर रिटायर्ड राईलाई महारानीबाट ह्याम्पसायर काउण्टीका लागि डेपुटी लर्ड लेफ्टिनेण्ट पदमा नियुक्त गरिएको हो ।

बेलायतबाट सञ्चालित नेपाली अनलाइन वीनेपालीका अनुसार बेलायतमा हरेक काउण्टी र बोरोहरुमा महारानीको प्रतिनिधिका रुपमा लर्ड लेफ्टिनेण्ट रहेका हुन्छन् । उनीहरुको नियुक्ति महारानीबाट हुने गर्छ । लर्ड लेफ्टिनेण्टहरुले आफ्नो कार्यमा सघाउनका लागि डेपुटी लर्ड लेफ्टिनेण्टहरुको नियुक्त गर्छन् ।

लर्ड लेफ्टिनेण्टको सिफारिसमा डेपुटी लर्ड लेफ्टिनेण्टहरुको नियुक्ति पनि महारानीबाटै हुन्छ । डेपुटी लर्ड लेफ्टिनेण्टहरुको नियुक्ति उनीहरुको स्थानीय र राष्ट्रिय स्तरमा रहेको योगदानका आधारमा हुने गर्छ । बेलायतमा १५ओैं शताब्दीदेखि लर्ड लेफ्टिनेण्टको परम्परा चलिआएको छ ।

लर्ड लेफ्टिनेण्टको जिम्मेवारी राजपरिवारको स्थानीय क्षेत्रमा भ्रमण हुँदा त्यसको व्यवस्थापन गर्ने, अवार्डहरु प्रदान गर्ने, पदकहरुका लागि सिफारिस गर्ने, नागरिकस्तरबाट आयोजित कार्यक्रममा राजपरिवारका तर्फबाट प्रतिनिधित्व गर्ने, स्थानीय जल, स्थल, वायु र सेनाका अन्य टुकडीहरुसित समन्वय गर्ने, स्थानीय स्तरमा राजपरिवारका सदस्यहरुले प्रतिनिधित्व गर्ने संस्थाहरुमा नेतृत्व, सल्लाह र नियुक्ति दिने लगायतका हुन्छन् ।

लर्ड लेफ्टिनेण्टलाई सघाउन भाइस लर्ड लेफ्टिनेण्ट र डेपुटी लर्ड लेफ्टिनेण्टहरू नियुक्त गरिएका हुन्छन् । ह्याम्पसायरमा प्रति २५ हजार जनसंख्या बराबर १ जना डेपुटी लर्ड लेफ्टिनेण्टको व्यवस्था गरिएको छ ।

उनीहरुको नियुक्ति गैरराजनीतिक हुन्छ । यसरी नियुक्त भएका लर्ड र डेपुटी लर्ड लेफ्टिनेण्टहरु ७५ वर्षको उमेरसम्म पदमा बहाल रहन सक्छन । तर उनीहरुलाई त्यसअगावै पदमुक्त गर्न सक्ने ब्यवस्था महारानीमा रहन्छ । उनीहरुले आफ्नो भूमिका स्वय‌ंसेवी रुपमा निर्वाह गर्नुपर्छ ।

लर्ड लेफ्टिनेण्टहरुले राजपरिवारलाई निमन्त्रणा गरिएका कार्यक्रमहरुमा राजपरिवारको उपस्थिति हुन नसक्दा राजपरिवारको प्रतिनिधित्व गर्दछन् । उनीहरुलाई राजपरिवार बराबरकै सम्मान दिइन्छ । लर्ड लेफ्टिनेण्टको उपस्थिति हुन नसक्दा डेपुटी लर्ड लेफ्टिनेण्टहरुले राजपरिवारको प्रतिनिधित्व गर्छन् । उनीहरुलाई त्यही सरहको सम्मान दिइन्छ । त्यस्तै राजपरिवारका सदस्यहरुलाई कुनै कार्यक्रममा निमन्त्रणा गर्नुपर्दा लर्ड लेफ्टिनेण्टमार्फत निमन्त्रणा गर्ने प्रावधान रहेको छ ।

मेजर रिटायर्ड राई हाल गोरखा ब्रिगेड एसोसिएसनको सचिवका रुपमा कार्यरत छन् । उनले सन् २००५ देखि ग्रासोट्समा गोरखा दरबार नामक नेपाली रेस्टुरेन्ट संचालन गर्दै आइरहेका छन् । मेजर रिटायर्ड राइले आफ्नो निजी पहलमा विभिन्न समाजसेवी कार्यहरु पनि गर्दै आइरहेका छन ।

गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड जी हेजले राईको नियुक्तिले गोरखाहरुले बेलायतलाई दिएको योगदानको कदर भएको प्रतिक्रिया दिएका छन् । नवनियुक्त डेपुटी लर्ड लेफ्टिनेन्ट राईले पनि महारानीको प्रतिनिधि बन्नु गौरवको कुरा भन्दै आफ्नो पृष्ठभूमि गोरखा सैनिक र नेपाल भएकाले ती दुवैको पनि प्रतिनिधित्व गर्ने बताएको द गोर्खा ब्रिगेड एसोसिएसनको वेभसाइटमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७