भारत पुर्‍याइएका २४ बालबालिकालाई उद्धार गरी नेपाल ल्याइयो


४ कार्तिक २०७७, मंगलवार
uddar 4QqAs6EFDq

नवलपरासी, ४ कार्तिक । रोजगारीका नाममा भारत पुर्‍याइएका २४ नेपाली किशोरको उद्धार गरी नेपाल ल्याइएको छ ।

रोजगारीका लागि भारत लगिएका ती किशोरहरुको भारतको गाजियाबादबाट उद्धार गरेर भारतीयले मंगलबार सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो ।
उद्धार गरिएकामध्ये १८ जना बालकहरु नवलपुर जिल्लाका हुन् । यस्तै एक जना दाङ र अर्का बालक सुर्खेतका छन् ।

यस्तै ४ बालिकामध्ये २ जना बाराका हुन् भने एक जना रुपन्देही र अर्की पर्वतकी हुन् । उनीहरुको उमेर १२ देखि १७ वर्षसम्म रहेको रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलले जानकारी दिएका छन् । भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएका किशोरहरुलाई मंगलबार नवलपरासीमा अभिभावकको जिम्मा लगाउने तयारी भएको पूर्वी नवलपरासीका एसपी प्रकाश मल्लले जानकारी दिएका छन् ।

नेपालको महिला बालबालिका मन्त्रालयका प्रतिनिधिको रोहबरमा उनीहरुलाई भारतीय प्रहरीले जिम्मा लगाएर अहिले नवलपरासी ल्याइँदैछ । उनीहरुलाई लैजाने ४ जनालाई पनि प्रहरीले समातेर ल्याएको छ ।

आफन्त नेपाल भन्ने संस्थाको सहयोगमा ती किशोरलाई भारतको गाजियाबादमा पक्राउ परेका हुन् । त्यो संस्था भारतमा पनि कार्यरत छ । आज ती सबै युवाका अभिभावकलाई जिल्ला प्रहरी कार्यालयमा आफना सन्तान जिम्मा लिन प्रहरीले बोलाएको छ । ‘अभिभावकको जिम्मा लगाएर पठाउछौं र लैजाने कसुरमा पक्राउ परेकाहरुलाई अनुसन्धान गर्छौं,’ एसपी मल्लले भने ।

उनीहरुलाई भारतमा आकर्षक रोजगारी दिने भन्दै एउटै गाडीमा राखेर भारतको गाजियाबाद पुर्‍याउँदा अघिल्लो साता त्यहाँको प्रहरीले पक्राउ गरेर दिल्ली प्रहरीलाई बुझाएको हो । उनीहरु गाजियाबादमा गाडीमा हिंड्दै गर्दा पक्राउ परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मल्लको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७