कैलालीमा दुई प्रहरीको हत्या आरोपित सात जनालाई गरियो सार्वजनिक


४ कार्तिक २०७७, मंगलवार
116a3551995e0687d7050cd942a11963 w1000 h500 cp

कैलाली, ४ कार्तिक । कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सहित दुई प्रहरीको हत्या आरोपमा पक्राउ परेका सात जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ ।

आज (मंगलबार) दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेका १३ जनामध्ये सात जनाको संलग्नता रहेको भन्दै कैलाली प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । घटनामा संलग्न सात जना रहेको र उनीहरुको पहिचान भइसकेको प्रहरीको दावी छ । उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भईरहेको कैलालीका डीएसपी प्रतिक बिष्टले जानकारी दिएका छन् ।

प्रहरी हत्या अभियोगमा धनगढी उपमहानगरपालिका १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने राम गोपाल राना छन् ।

घटनामा संलग्न अन्य ब्यक्तिहरु भए नभएको र घटना के कसरी घटाए भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी बिष्टले बताएका छन् ।

कात्तिक १ गते राति साढे १० बजे अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको थियो । बिकको २ गते र साउदको आज (मंगलबार) बिहान स्थानीय मोहना नदीमा शव फेला परेको थियो ।

सीमावर्ती क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रणका लागि जुगेडाको दक्षिणी भागमा नियमित गस्ती गर्ने क्रममा उनीहरुको हत्या भएको थियो ।

धनगढी उपमहानगरपालिका १० स्थित मोहना नदीबाट अन्दाजी ४०० मिटर उत्तरमा सीमामा अबैध समानहरुको तस्करी गरिरहेका तस्करहरुको समुहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा उक्त तस्करहरुको समूहले योजनाबद्ध रुपमा धारीलो हतियार प्रहार गरी दुबै जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गरी सकेपछि बोक्दै र घिसार्दै करिब ४०० मिटर दक्षिणमा नेपाल भारत सीमास्थित मोहना नदीमा लगी शव फालेको अनुसन्धानबाट खुलेको छ । घटनापछि सुदुरपश्चिम प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धानका क्रममा शुरुमा ११ र पछि २ गरी १३ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७