कर्णाली विवाद : बालुवाटार भन्छ, ‘चारबुँदे सहमति भयो’, खुमलटार भन्छ, ‘भएको छैन’


४ कार्तिक २०७७, मंगलवार
oli and parchanda

काठमाडौं । कर्णाली प्रदेशको विवाद बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भएको छलफलको बारेमा दुई थरीका दाबी आएको छ । बालुवाटारले दुई अध्यक्षबीच चार बुँदे सहमति भएको दाबी गरेको छ, बालुवाटारको दाबी आए लगत्तै खुमलटारले त्यसको खण्डन गरेको छ ।

कर्णालीको समस्या समधानको लागि आज बिहान प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस विज्ञप्ति जारी गरेर दुई अध्यक्षबीच चार बुँदे सहमति भएको उल्लेख गरेका थिए ।

मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने, कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा शाहीद्धारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमत भएको थापाले जनाएका थिए ।

हेर्नुहोस् विज्ञप्ति :

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु –

१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।

२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।

३. मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने । र,

४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

यसबारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।

सूर्य थापा, प्रेस सल्लाहकार
४ कात्तिक २०७७

सहमति भएको छैन : सापकोटा
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले भने प्रदेशको विवादबारे बालुवाटारमा त्यस्तो कुनै सहमति नभएको बताएका छन् ।

विज्ञप्ति जारी गरेर उनले भनेका छन्, ‘छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।’


हेर्नुहोस् विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।

उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।

बिष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डका निजी सचिवालय

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७