कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी

जुम्लामा कर्मचारीको आन्दोलन, उपकुलपति काठमाडौंमा, तालाबन्दीले कामकाज प्रभावित


५ कार्तिक २०७७, बुधबार
talabandi

जुम्ला, ५ कार्तिक । डिन नियुक्तिको विरोध गर्दै कर्मचारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । एक सातादेखिको तालाबन्दीले प्रतिष्ठानको कामकाज प्रभावित भएको छ । तर, प्रतिष्ठानका पदाधिकारीले तालाबन्दी खोल्न कुनै पहल गरेका छैनन् ।

नियम विपरीत डिन नियुक्त गरिएको, प्रतिष्ठानमा अनियमितता भएको भन्दै २८ असोजमा कर्मचारीले तालाबन्दी गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्लेले गलत तरिकाले डिन नियुक्त गरेको कर्मचारीको आरोप छ । उपकुलपति वाग्लेले २६ असोजमा काठमाडौंस्थित सम्पर्क कार्यालयबाटै प्रा.डा. मुनिराज क्षेत्रीलाई प्रतिष्ठानको जनस्वास्थ्य संकायको डिन नियुक्त गरेका थिए ।

सम्पर्क कार्यालयबाटै डिन नियुक्त गरिएपछि कर्मचारी कल्याणकारी समाजको अगुवाइमा कर्मचारीहरू विरोधमा उत्रिएका छन् । उनीहरूले २८ असोजमा प्रतिष्ठानको केन्द्रीय प्रशासन र शैक्षिक प्रशासनमा तालाबन्दी गरेका छन् । प्रतिष्ठानका कर्मचारीहरूले डिनको नियुक्ति फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, प्रतिष्ठानलाई ठूलो आर्थिक व्ययभारबाट बचाउन पदाधिकारी जिम्मेवार हुनुपर्ने, एकल निर्णयबाट प्रतिष्ठानमा हुने नियुक्ति र बढुवालाई तत्काल रोक्नुपर्ने माग गरेका छन् ।

उपकुलपतिले जथाभावी आर्थिक भार थपेको र अनियमितता भइरहेकाले आन्दोलन गर्नु परेको प्रतिष्ठानका कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्याले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७