कोरोनाबाट रुपन्देहीका थप दुईको निधन, रुपन्देहीमा मृत्तक संख्या ५३ पुग्यो

रुपन्देही, ५ कार्तिक । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको ज्यान गएको छ । निधन हुने दुवै जना बुटवल उपमहानगरपालिका हुन् ।
वडा नं. ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो । दुवै जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।
असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १ः१० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनमा उच्च रक्तचापको समस्या रहेको डा. गौतमले बताए ।
यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।