घलेगाउँ घरबास खुले पनि आएनन् पर्यटक


५ कार्तिक २०७७, बुधबार
ghale gaun 1

लमजुङ, ५ कार्तिक । क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास गत भदौ १ गतेबाट खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा यतिबेला पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा यहाँ घरवास सुनसान भएको छ ।

विगतका वर्षका यस मौसममा दैनिक ४०० जनाको हाराहारीमा पर्यटक आउने गरे पनि यतिबेला कहिलेकाहीं जिल्लाभित्रका दुई चार जना पर्यटक मात्र आउने गरेका ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले बताए ।

कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा आर्थिक आम्दानीको स्रोत बनाएका घरबास सञ्चालक बढी मर्कामा पर्न थालेको घरवास सञ्चालक दीर्घराज घलेले बताए ।

घलेगाउँबाट लमजुङ हिमाल, अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), माछापुच्छ्रे हिमाल, मनास्लु हिमाल, हिमालचुली हिमाल, ङादीचुली (डा हर्क हिमाल) र बुद्व हिमाल देख्न सकिन्छ ।

नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन, घले राजाको पार्क, गुरुङ सङ्ग्राहलय हेर्न सकिन्छ । जिल्लाको सदरमुकाम बेंसीशहरबाट सो गाउँ पुग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करिब तीन घण्टा र पैदलयात्रा गरेमा करिब पाँच घण्टा समय लाग्छ ।

त्यस्तै बेंसीशहर नगरपालिका–३ काउलेपानीमा रहेको घरवास (होमस्टे) भने दशैंपछि सञ्चालनमा आउने भएको छ । कोभिड–१९ को जोखिम कायम रहेकाले तत्काल घरवास सञ्चालन गर्न नसकिएको काउँलेपानी पर्यटन व्यवस्थापन समितिका सचिव कविन्द्र गुरुङले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७