आयोगले सिफारिस गरेका दोषी व्यक्तिहरुमाथि तत्काल मुद्दा चलाऊ : अनुपराज शर्मा


५ कार्तिक २०७७, बुधबार
Anupraj Sharma

काठमाडौं, ५ कार्तिक । राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुमाथि सरकारले तत्काल मुद्दा चलाउनु पर्ने बताएका छन् ।

विभिन्न समयमा अनियमितता गरेको, पदको दुरुपयोग गरेको तर कारबाहीका लागि सिफारिस हुँदा समेत पदको लाभ लिइरहेका व्यक्तिहरुलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत तत्काल मुद्दा चलाउनुपर्ने शर्माले बताएका छन् ।

मानवअधिकार आयोगले २०५७ जेठदेखि ०७७ असारसम्म विभिन्न समयमा भएका घटनाका २८८ जना दोषीको नाम नै किटान गरी कारबाहीका लागि सिफारिस गरेको छ । बुधबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै निवर्तमान अध्यक्ष शर्माले आयोगले सिफारिस गरेका व्यक्तिहरुमाथि अनुसन्धान गर्नका लागि भए पनि मुद्दा चलाउनै पर्ने औंल्याएका हुन् । मुद्दा दायर गर्दा दण्डहिनता घट्ने भएकाले पनि आयोगले सिफारिस गरेका व्यक्तिहरुमाथि मुद्दा चलाउनुपर्ने उनले बताएका छन् ।

पछिल्ला केही समययता जिल्ला अदालतबाट छिनिएका जघन्य अपराधका सरकारवादी मुद्दाहरु माथिल्लो तहमा अपिल नहुने गरी फैसला गर्ने र मिलापत्र गराउने गरेको पाइएको शर्माले बताएका छन् ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहीनतालाई प्रोत्साहन गरेको उनले बताएका छन् । मुद्दा चलाउँदैमा कारबाही भइहाल्ने भन्ने नभएको र त्यसमा विभिन्न पक्षबाट अध्ययन अनुसन्धान समेत हुने भएकाले अनिवार्य मुद्दा चलाउनुपर्ने उनले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७