यस्ताे बन्याे पुनःनिर्मित रानी पोखरी, राष्ट्रपतिद्वारा उद्घाटन {भिडियाे}


६ कार्तिक २०७७, बिहीबार
Ranipokhari inauguaration 4

काठमाडौं, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छिन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन । सो क्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले रानीपोखरीमा जल अर्पण गरिन ।

तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न भएपछि उद्घाटन गरिएको हो । त्यस्तै रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दर्शनका साथै अवलोकन गरे । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर पनि विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ ।

भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी थिइन ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले झण्डै तीन सय वर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको छुट्टै सांस्कृतिक महत्व रहेको बताइन । काठमाण्डौ उपत्यकाको विकास मात्रै नभइ पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन ।

उनले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वाससमेत व्यक्त गरिन ।
त्यस्तै राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले भूकम्पबाट क्षति भएका अन्य ऐतिहासिक सम्पदाहरुको पुननिर्माणलाई तिव्रता दिएको जानकारी दिए । उनले बिभिन्न चूनौतिहरुलाई पार गर्दै प्राधिकरण पुननिर्माण कार्य अन्तिम चरणमा पुराएको बताए । ज्ञवालीले मंसिर महिनाभित्र सिंहदरबार र पुस महिनाभित्र धरहराको सवै तल्ला निर्माण हुने उल्लेख गरे ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । रानीपोखरीसँगै ऐतिहासिक दरबार हाइस्कूल अर्थात् भानु माध्यमिक विद्यालयको पनि राष्ट्रपति भण्डारीले उद्घाटन गरिन ।

भानु मावि चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो । भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सनले लिएको थियो । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले र ४० कक्षाकोठाको छ । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा सो विद्यालय स्थापना गरिएको थियो ।

विसं १९६४ देखि संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई खुला गरिएको थियो । भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त हाइस्कूलको पुनःनिर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७