कुख्यात वन्यजन्तु तस्कर निटुपविरुद्ध रेड नोटिस


६ कार्तिक २०७७, बिहीबार
nitup lama taskar2020 10 22 04 58 33

काठमाडौं, ६ कार्तिक । नेपालबाट संगठित रूपमा वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न ‘मोस्ट वान्टेड’ निटुप लामाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ । अहिलेसम्मकै ठूलो वन्यजन्तु अपराधमा संलग्न लामाविरुद्ध १५ अक्टोबरमा इन्टरपोलले नोटिस जारी गरेको हो ।

०६२ मा रसुवाको स्याफ्रुबेंसीमा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा निटुपको संलग्नता देखिएपछि प्रहरीले खोजी थालेको थियो । त्यतिवेला सेनाको चेकिङका क्रममा ६ वटा बाघको छाला, ३६ वटा चितुवाको छाला, दुई सय ३८ वटा ओतको छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ परेका थिए । यो वन्यजन्तु अपराधमा अहिलेसम्मकै ठूलो बरामदी हो ।

लामा नेपालबाट संगठित रूपमा बाघका छाला तथा हड्डी तस्करी गर्ने गिरोहका मुख्य सदस्य भएको प्रहरी दाबी छ । उनको बारेमा विस्तृत विवरण संकलन गर्न अहिलेसम्म नसक्दा रेड नोटिस जारी हुन सकेको थिएन ।

उनको समूहका कुन्जोकछिरिङ तामाङ गत असारमा पक्राउ परेपछि प्रहरीले निटुपबारे थप सूचना संकलन गर्न सफल भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामाबारे विस्तृत विवरण संकलन गरी पक्राउ पुर्जी जारी गराएर इन्टरपोलमा रेड नोटिसका लागि सिफारिस गरेको थियो ।

चिनियाँ मूलका लामाले आफू गोरखाको छाकाम्पारको बासिन्दा भन्दै नागरिकता लिएका थिए । ६१ वर्षीय लामा ग्याल्छेन, ङोडुप जस्ता नामले कारोबारीबीच चिनिन्थे । विगतमा उनको नागरिकता नम्बरलगायतका विवरण प्रहरीले पत्ता लगाउन सकेको थिएन ।

गत असारमा पक्राउ परेका कुन्जोकछिरिङ तामाङलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको बारेमा थप खुलेको र रेड नोटिसमा राख्न सफल भइएको सिआइबीका एक अधिकारीले बताए । लामा हाल विदेशमा छन् ।

स्याफ्रुबेंसीमा पक्राउ परेका युवाहरूको बयानबाट तस्करीमा कुन्जोक तथा निटुपको संलग्नता रहेको खुलेको थियो । तर, विस्तृत विवरण नखुलेपछि पक्राउ परेकालाई मुद्दा चलाएर उनको मुद्दा मुल्तबीमा राखिएको थियो । रेड नोटिसमा राखेपछि विदेशबाट पनि उनलाई पक्राउ गरी ल्याउन सहज हुने प्रहरी अधिकारीहरूले बताएका छन् ।

उच्चमा फैसला लम्बिएपछि कुन्जोक सर्वाेच्चमा
गत असारमा पक्राउ परेका कुन्जोक थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित सर्वाेच्च अदालत पुगेका छन् । उनी सोमबार सर्वाेच्च गएका हुन् ।

पुर्पक्षका लागि रसुवा कारागारमा रहेका कुन्जोक थुनामा राख्ने जिल्ला अदालत रसुवाको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका थिए । तर, पाटनबाट फैसला नहुँदै उनी सर्वाेच्च पुगेका हुन् । ‘उच्च अदालतमा उनकै वकिलले दुईपटक पेशी सारे,’ अदालतका एक कर्मचारी भन्छन्, ‘यही वेला सर्वाेच्च पुगेछन्, अचम्म लागेको छ ।’

बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएकै दिन सर्वाेच्चले तीन दिनभित्र जवाफ दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), जिल्ला कारागार रसुवा र जिल्ला अदालत रसुवासँग जवाफ मागेको छ । न्यायाधीश प्रकाशसिंह राउतको इजलासले यस्तो आदेश दिएको हो ।

आफू कुन्जोक लामा नभई कुन्जोकछिरिङ तामाङ भएको दाबी गरी उनी छुट्ने प्रयासमा छन् । तर, दुवै नाम गरेका व्यक्ति एकै भएको प्रहरी अनुसन्धानमा खुलेको थियो । ०६२ मा पत्ता लागेको उनको मोबाइल नम्बरसमेत अहिले पनि उनीसँगैबाट बरामद भएको प्रहरी स्रोत बताउँछ ।

वन्यजन्तु तस्करी मुद्दामा १५ वर्षदेखि फरार रहेका कुन्जोकलाई गत १० असारमा बौद्धबाट पक्राउ गरिएको थियो । उनी भारतबाट नेपाल हुँदै बाघका अंग तिब्बत तस्करी गर्ने गिरोहका नाइकेमध्ये एक भएको र भारतमा समेत उनीविरुद्ध मुद्दा दायर भएको छ ।

प्रारम्भिक छानबिनमा अस्वाभाविक देखिएपछि उनको सम्पत्तिसमेत छानबिन भइरहेको छ । पछिल्लो १० वर्षमा दुई अर्बको बैंकिङ कारोबार गरेका कुन्जोकले बौद्धको सिमलटारमा १८ आनामा पाँचतले भव्य घर बनाएका छन् । उनको धेरैजसो बैंकिङ कारोबार तिब्बती समूहसँग देखिएको छ । गुह्येश्वरी फाइनान्सबाट तीन वर्षअघि मात्र व्यापारका नाममा दुई करोड कर्जा लिएका थिए । उनको कर्णाली गार्मेन्ट पसल पनि छ ।

सिआइबीले गत वर्ष नै कुन्जोकलाई पक्राउको तयारी गरेको थियो । प्रहरी नेतृत्वको आदेशपछि सिआइबीले पक्राउ गर्ने अनुमति पाएको थिएन । प्रहरी नेतृत्व फेरिएपछि उनी पक्राउ परेका हुन् । उनको उच्च प्रहरी अधिकारीहरूसँग समेत निकटता देखिएको स्रोत बताउँछ ।

भारतीय अधिकारीबाट नेपाल प्रहरीलाई आएको सूचनाअनुसार कुन्जोक आबद्ध समूहले करिब ६ सयवटा बाघको चोरी–सिकारी गरेको छ । भारतका कुख्यात वन्यजन्तु तस्कर संसार चन्द तथा सहिबर कुरैसीको समूहसँग मिलेर उनले काम गरेको पुष्टि भइसकेको छ ।

भारतमा प्रहरीले ठूलो मात्रामा बाघको छाला बरामद भएको घटनामा उनको समेत संलग्नता खुलेको थियो । जसमा उनलाई फरार सूचीमा राखिएको छ । रसुवामा पक्राउ परेका समूहले त्यसअघि पनि आफूहरूले पटक–पटक बाघका छाला तथा हड्डी ओसारेको बयान दिएका थिए ।

भारतमा पनि कुन्जोक मोस्ट वान्टेड छन् । सन् १९९९ मा गाजियावादमा बरामद भएको बाघको छालाको तस्करीमा उनको संलग्नता देखिएको थियो । सन् २००० मा उत्तर प्रदेशको खागामा तथा सन् २००८ मा मध्यप्रदेशको हरियाणामा बाघको छाला बरामद भएकोमा त्यसको तस्करीको नाइके उनी भएको खुलेको थियो । सोही आधारमा भारतले पटक पटक नेपालसँग उनलाई पक्राउबारे छलफल गरे पनि उनी फेला परेका थिएनन् ।

कुन्जोक करिब २० वर्षदेखि नेपालमा बस्दै आएको प्रहरीले जनाएको छ । हुम्लाको नाम्खा गाउँपालिका– ६ हुम्लाबाट उनले नेपाली नागरिकता लिएका छन् । जेठी श्रीमती हुम्लामै रहेकोमा कान्छी श्रीमतीसँग जोरपाटीमा बस्दै आएका थिए ।

यसअघि प्रहरीले वन्यजन्तु तस्करी मुद्दामा मोस्ट वान्टेड लिडु डिमेलाई रेड नोटिस जारी गरी भारतबाट पक्राउ गरी ल्याएको थियो । सर्वाेच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो, सो आदेशपछि उनी भारत पुगिसकेका छन् । कुन्जोक पनि त्यसैगरी धरौटीमा छुटेर विदेश जान लागेको प्रहरी आशंका छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७