प्रचण्डको सचिवालयले पनि भन्यो, ‘भारतीय गुप्तचर गोयलसँग भेट भएको छैन’


६ कार्तिक २०७७, बिहीबार
prachanda

काठमाडौं, ६ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पनि भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको स्पष्ट पारेको छ ।

‘अध्यक्षले भारतीय गुप्तचर प्रमुखलाई भेट्नु न परै जाओस्, उनी काठमाडौं आएकै हुन् कि होइनन् भनेर अहिलेसम्म भेरिफाई गरिरहनु भएको छ । उहाँलाई भारतीय गुप्तचर प्रमुख काठमाडौं आएको थाहै छैन’, प्रचण्डका प्रेस संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले भने ।

यस्तै नेकपा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सचिवालयले पनि ‘रअ’ प्रमुखसँगै भेट नभएको स्पष्ट पारेको छ । विभिन्न सञ्चार माध्यममा प्रचण्ड र माधवकुमार नेपालसँग रअ प्रमुखको गोप्य भेटघाट भएको खबर बाहिर आएपछि दुवै नेताको सचिवालयले यस्तो स्पष्टिकरण दिएको हो ।

यदि भारतीय गुप्तचरको आगमनबारे प्रचण्ड सचिवालय अनभिज्ञ भएको भए यो भ्रमणबारे प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टी सचिवालयमा कुनै पनि छलफल वा पूर्व जानकारी नदिएको देखिन्छ । नेकपाको गत स्थायी कमिटी बैठकले पार्टी र सरकार सञ्चालन दुई अध्यक्षवीचको सरसल्लाहमा गर्ने सहमति गरिएको थियो ।

पछिल्लो समय भारतसँग सीमा विवाद चर्कंदै गएका बेला नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले नै नेपाल सरकारले नक्शा जारी गर्नुपर्ने निर्णय गराएका थिए । पार्टीको सो निर्णयपछि सरकारले नक्सा जारी गरेको थियो ।

तर, पार्टीभित्र अन्तरविरोध बढ्दै जाँदा ओली पक्षका कार्यकर्ताहरुले प्रचण्डलाई ‘भारतीय दलाल’ को संज्ञा समेत दिएका थिए । तर, अहिले प्रधानमन्त्री ओलीले भारतीय गुप्तचरलाई नेपाल निम्त्याउँदा पार्टीमा कुनै सल्लाह नै नगरेको प्रचण्डका निकटस्थको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७