कोरोना परीक्षण र उपचार निःशुल्क बनाऊ : देउवा


६ कार्तिक २०७७, बिहीबार

काठमाडौं, ६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन् ।

उनले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निःशर्त, विना भेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव दिएका छन् ।

उनले कोभिड–१९ को परीक्षण र सङ्क्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग गरेका छन् । ‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो । सरकारले बिना शर्त यसको कार्यान्वयन गर्नुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।

उनले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै सक्रिय सङ्क्रमितको शीघ्र स्वास्थ लाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७