सुरक्षाकर्मीको ड्युटीमै दसैं : कोरोनामा खटिँदा दिने भनेको विशेष भत्ता दसैंमा पनि आएन


७ कार्तिक २०७७, शुक्रबार
police

काठमाडौं, ७ कार्तिक । लकडाउन सुरु हुँदा ट्राफिक प्रहरी विक्रमसिंह ठकुरीको ड्युटी गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा थियो । तीन महिनापछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनको सरुवा सिंहदरबारभित्र गर्‍यो ।

भिभिआइपीको यातायात सुरक्षामा खटिनुपर्ने भएकाले कोरोना संक्रमणबाट बच्नुपर्ने उर्दीसँगै बग्गीखानास्थित महाशाखाको ब्यारेकमा बसिरहेका सिंहले छुट्टै कोठा खोज्नुपर्ने भयो ।

त्यतिवेला सरकारले फ्रन्टलाइनमा खटिने राष्ट्रसेवकका लागि विशेष भत्ता दिने खबर पाए, अखबार र आफ्ना कमामन्डरमार्फत । त्यस खबरले हौसिएका उनले प्रतिमहिना आठ हजार रुपैयाँ तिर्ने गेस्टहाउसको कोठा बुक गरे । पाँच महिनादेखि उनी त्यही कोठामा बस्दै आएका छन् । तर, सरकारले दिने भनेको विशेष भत्ता अझै उनको बैंक खातामा झरेको छैन ।

‘भिभिआइपीको सुरक्षाका लागि कोरोनाबाट बच्नुपर्ने भएकाले ब्यारेक छोडेर कोठोमा बस्नुपर्ने भयो । हिसाब गर्दा कोठाभन्दा गेस्टहाउस नै सस्तो देखिएपछि रुम बुक गरेँ,’ ट्राफिक प्रहरी सिंहले भने, ‘सरकारबाट दिने भत्ताले गेस्टहाउसको भाडा तिर्ने योजना थियो, तर अहिलेसम्म आएन । तैपनि ड्युटी गर्न छाड्नु पनि भएन ।’

सुन्धारास्थित व्यस्त सडकमा सिट्ठी फुक्दै गरेको अवस्थामा भेटिए, अर्का ट्राफिक प्रहरी जवान भेषराज आचार्य । खोटाङ दिक्तेल– १ उर्लेनीका उनी घर जाने योजना बनाउँदै थिए, लकडाउन सुरु भयो । त्यसपछि घर जानु त पाएनन् नै ड्युटी झन् बढ्यो ।

आठ महिनादेखि दैनिक १५ घन्टा ड्युटीमा खटिएका उनले दसैँमा पनि बिदा पाएका छैनन् । बिदा नबसी खटिँदा सरकारले दिने भनेको विशेष भत्ता पनि पाएका छैनन् । आधा अनुहार ढाकिएको मास्क फुकाल्दै आचार्यले भने, ‘लकडाउनले घर जाने योजना त्यतिकै खेर गयो, वर्ष दिन भयो छुट्टी पनि लिएको छैन । झन् कोरोनाले दसैंमा पनि बिदा मिलेन ।’

व्यस्त रामशाहपथको ६ घन्टे ड्युटी सकेर बग्गीखानास्थित ट्राफिक महाशाखा भित्रिँदै थिइन्, ट्राफिक प्रहरी जवान खगमाया सिवाकोटी । झापा बिर्तामोडस्थित चारपानेकी सिवाकोटीले पनि लकडाउन भएयता छुट्टी लिएकी छैनन् ।

उनले दसैैँमा घर जाने योजना बनाएकी थिइन् । तर, कोरोनाका कारण बिदा नपाउने भएपछि यस वर्ष दसैँमा घर आउँदिनँ भनेर फोन गरिसकेकी छिन् ।

कोरोनाका कारण दैनिक १६ घन्टा सडकमा खटिँदै आएकी उनले सरकारले दिने भनेको विशेष भत्ता अहिलेसम्म पाएकी छैनन् । तैपनि प्रशन्न देखिएकी सिवाकोटीले भनिन्, ‘भत्ता मिलेन भन्दैमा ड्युटी गर्न छाड्नु भएन् । सुरक्षाकर्मीको ड्युटी भनेकै अप्ठ्यारोकै लागि हो । त्यसैले दसैँमा ड्युटीमा खटिनुपर्दा पनि खुसी नै छौँ ।’

त्यस्तै, सुन्धरामा खटिएका प्रहरी हवल्दार दानसिंह धामीको पनि दसैँमा उस्तै खटाइ छ । खिचापोखरीबाट सुन्धरातर्फ आउँदै गरेका अव्यवस्थित भिड व्यवस्थापनमा जुटेका उनी छातीमा टाँगिएको वाकीटकीमार्फत घरि मातहतका प्रहरीलाई निर्देशन दिन्थे, घरि सिट्ठी फुकेर भिडलाई अघि बढ्न निर्देशन दिन्थे । लकडाउन कार्यान्वयनमा सडकमा उत्रिएका उनको ड्युटी असोजयता भिड व्यवस्थापनमा छ ।

कोरोना संक्रमणको डरबीच दैनिक १६ घन्टा खटिँदै आएका उनी यो दसैँमा पनि घर जान नपाउने भएका छन् । लकडाउनमा पनि घर जान नपाएर सडकमा खटिएका उनी भने विशेष भत्ता पाउनेमा आशावादी छैन । ‘कोरोना भत्ता दिने भनेको सुन्दा उत्साहित भएको थिएँ । आठ महिना बित्यो, केही पाइएको छैन । अहिले त चर्चा नै हुन छाड्यो, अब के पाइएला,’ उनी भन्छन् ।

यस्तो वेला दिने भत्ताले काम खटिने सुरक्षाकर्मीको मनोबल बढ्ने बताउँछन् अर्का प्रहरी हवल्दार सोमबहादुर थापा । असन बजारको भिडबीच गस्ती टोलीसँगै भेटिएका उनी लकडाउनमा बिदा बसेकाले अब चाडपर्वमा घर जान पाइला भन्ने सोचेका छैनन् ।

गोरखाको सहिद लखन गाउँपालिका–७ रानीसराका थापाले दसैँ, तिहार र छठमा बिदाका लागि नसोचेरै ड्युटीमा खटिने मुड बनाएको बताए । ‘घरमा जरुरी काम थियो, त्यसैले लकडाउनमा बिदा बसेँ । तर, मसँगै हिँड्ने साथीहरूले ११ महिनादेखि बिदा पाएका छैनन् । कोरोनाले गर्दा अब दसैँमा पनि नपाउने भएँ,’ आफूसँगै गस्तीमा रहेका ११ जना प्रहरी देखाउँदै हवल्दार थापाले भने, ‘यस्तो वेला घोषणा भएको भत्ता आएमा मनोबल उच्च बढ्छ नै । तर, भत्ता नआउँदैमा ड्युटी गर्न छाड्ने भन्ने त हुँदैन ।’

कोराना महामारीबीच सुरु भएका चाडपर्वमा सुरक्षा प्रबन्ध मिलाउने प्रहरीका कमान्डरलाई पनि कम सास्ती छैन । दैनिक १८ घन्टे कडा ड्युटीमा खटिँदै आएका छन् । राजधानीमा चोरी, डकैती र लुटपाटका घटना कहीँ न कतै प्रत्येक दिनजसो भइरहेका हुन्छन् । अझ दसैँ–तिहारमा त जुवा खेल्ने र मादक पदार्थ सेवन गरी शान्ति सुरक्षा बिथोल्ने पनि उत्तिकै छन् ।

गम्भीर अपराध हुन नदिने जिम्मेवारी एकातर्फ छ भने चाडपर्वमा झन् सतर्क हुनुपर्छ । ‘सहरमा भएका सानोभन्दा सानो घटनाको सूचना कमान्डरलाई नै आउने गर्छ । इग्नोर गर्ने कुरो भएन । त्यसो हुँदा चौबिसै घन्टा अलर्ट रहनुपर्छ । दसैँ जस्तो पर्वमा त व्यस्तताको झन् सीमा नै रहँदैन,’ राजधानीको सुरक्षा प्रबन्ध मिलाउने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले भने ।

उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मा पाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने सुरक्षाकर्मीको घर नै संगठन भएकाले दसैँ, तिहार, छठजस्ता पर्वमा छुट्टी नपाउँदा खासै चित्त नदुख्ने बताउँछन् । पर्वका बखत हुने सबै गतिविधि संगठनभित्रै हुने भएका हुँदा घर वा ड्युटीमा हुँदा खासै फरक नपर्ने उनको भनाइ छ ।

‘पहिलो ड्युटी त सुरक्षा नै हो । त्यसबाट बचेको समयमा हामी संगठनभित्रै पर्व मनाउँछौँ । घरमा झैँ यहाँ पनि टीका लगाउँछौँ । देउसी–भैलो खेल्छौँ । मिठो–मसिनो खाना यहाँ पनि पाक्छ,’ एसएसपी ढकालले भन्छन्, ‘संगठन परिवार हो । त्यसैले परिवारबाट टाढा छु भन्ने महसुस हुन नदिन घरमा जस्तै यहाँ पनि पर्व मनाउँछौँ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७