कांग्रेस महाधिवेशन : देउवा–पौडेल समीकरण बन्ला ?


७ कार्तिक २०७७, शुक्रबार
7 Shares
Congress Sher bahadur deuwa ramchandra paudel

काठमाडौं, ७ कार्तिक । कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने होड बढ्दै जान थालेको छ । संस्थापनपक्षमा सभापति शेरबहादुर देउवा कुनै बेला एक्ला प्रतिस्पर्धी ठानिएका थिए तर त्यही समूहका उपसभापति विमलेन्द्र निधिले केही महिनाअघि आफ्नो उम्मेदवारी अनौपचारिक तहमा घोषणा गरेका छन् ।

नेता गोपालमान श्रेष्ठले पनि सभापतिमै आफ्नो दाबी प्रस्तुत गरेका छन् । सभापति देउवाले विश्राम लिएर आफूहरूलाई सहयोग गर्नुपर्ने तर्क निधि र श्रेष्ठ दुवैको छ । संस्थापनइतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वाभाविक दाबी छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले पनि नेतृत्वका लागि तयारी अघि बढाइरहेका छन । युवा पुस्ताबाट कसैले दाबी नगरेपछि आफैं उम्मेदवार हुने भन्दै पूर्व विद्यार्थी नेता एवं केन्द्रीय सदस्य कल्याण गुरुङ पनि कस्सिएका छन् । सार्वजनिक कार्यक्रम र मिडियामार्फत उनले आफू सभापतिको प्रत्याशी भएको बताउँदै आएका छन् ।

नेतृत्वको चर्को प्रतिस्पर्धा चलिरहेका बेला पार्टीभित्र विभिन्नखाले समीकरणको चर्चासमेत चल्न थालेका छन् । तीमध्ये देउवा र पौडेलबीच समीकरण बन्ने चर्चा पनि आन्तरिक बहसमा छ । चार पटक प्रधानमन्त्री र दुई पटक सभापति भइसकेका देउवाले हार्ने गरी चुनाव नलड्ने अनुमान धेरैको छ । आफ्नै समूहबाट निधिले प्रतिस्पर्धा गर्ने तयारी गरेपछि देउवा अप्ठ्यारामा परेका छन् । १३ औं महाधिवेशनमा झिनो मतान्तरले देउवा सभापति भएका हुन ।

jagdamba.cement
rbbbb

निकट एक नेताको दाबीमा निधिलाई आफ्नो उम्मेदवार बनाएर सहयोग गर्ने पक्षमा देउवा देखिँदैनन् । उनले प्रदेश अधिवेशनसम्ममा आफ्नो परिस्थिति हेर्ने र हार्ने स्थिति बने विकल्प खोज्ने सम्भावना छ ।

त्यस्तो बेला देउवाले वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालामध्ये एकलाई अघि सार्न सक्ने अड्कल गरिएको छ । पौडेलले पनि यस्तो विकल्पका विषयमा हल्ला सुनेको बताए । कान्तिपुर टेलिभिजनको फायरसाइडमा सोमबार उनले आफूसँग प्रत्यक्ष कुराकानी नभएको तर अप्रत्यक्ष रूपमा यस्तो विकल्प सुनेको बताए ।

आसन्न १४ औं महाधिवेशनमा देउवा र पौडेल दुवैले पार्टी सभापति बन्ने चाहना राखेका छन् । विवादको केन्द्रमा पनि यी दुई नेता नै बढी देखिने गरेका छन् । यतिबेला देउवा र पौडेलबीचको टक्कर ‘घम्साघम्सी’ तहमै छ ।

देउवाको कार्यशैली र भूमिकाकाप्रति पौडेलले सुरुदेखि नै विरोध गर्दै आएका छन् । ०७२ फागुनमा आफू पार्टी सभापति बनेदेखि नै पौडेलले पटकपटक ‘अत्तो’ थाप्दै आएको बुझाइ देउवामा छ । उनले बेलाबखत आफू निकटहरूसँग पौडेलले आफूलाई पार्टी सभापतिका रूपमा अहिलेसम्म स्वीकार नगरेको गुनासो गर्दै आएका छन् ।

देउवा र पौडेलले बेलाबखत घनिष्ठता पनि देखाउने गरेका छन् । ०७५ पुसमा महासमिति बैठक समापन कार्यक्रममा देउवाले पौडेलसँग ‘डिप लभ’ को सम्बन्ध भएको बताएका थिए । पौडेलले पनि ‘इमोसनल एटयाचमेन्ट’ भएको जनाएका थिए ।

केही दिनअघि मात्रै पार्टी कार्यालय सानेपाको आफ्नो कार्यकक्षमा देउवाले आफू निकटहरूसँग ‘रामचन्द्र समकालीन पनि हो, दुःख पाएको पनि छ तर छुचो हुन उही अघि आइपुग्छ’ भनेर प्रतिक्रिया दिएको एक नेताले बताए ।

‘समकालीन, सँगै जेलनेल भोगेको र अन्तरकुन्तरमा माया समेत देखिएका हिसाबले पनि देउवाले पौडेललाई साथ दिने सम्भावना पनि देखिन्छ,’ देउवानिकट एक पदाधिकारीले भने, ‘तर महाधिवेशनको प्रतिनिधिको स्पष्ट तस्बिर नआएसम्म त शेरबहादुरजी नै उम्मेदवार हुने हो ।’

राजनीतिक यात्राको ६ दशक लामो कालखण्डमा देउवा र पौडेलबीचको सम्बन्ध पछिल्लो दशक सबैभन्दा बढी तिक्ततापूर्ण छ । अघिल्लो पुस्ताका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सक्रिय कालखण्डमा यी दुई नेता प्रायः एक ठाउँमा उभिन्थे ।

भूमिका र विचारमा पनि ठूलो भिन्नता थिएन । सिंह, भट्टराई र कोइरालालाई कांग्रेसका ‘त्रिमूर्ति’ भनिन्थ्यो । त्यसपछि पनि पार्टीमा नेतात्रयकै स्थान थियो । शैलजा आचार्यसमेत गरेर उनीहरूलाई ‘आरएसएस’ को उपमा दिइएको थियो । नेतृ आचार्यको भने धेरै अघि निधन भइसकेको छ ।

अघिल्लो पुस्ताका कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच द्वन्द्व चर्केका बेला देउवा र पौडेलमा प्रतिस्पर्धीभन्दा पनि बढ्ता साथीको भावना थियो । प्राध्यापक कृष्ण खनालका अनुसार नेतृत्वको आकांक्षा उचाइमा नपुग्दा आफ्नो भविष्य र सुरक्षाका लागि पनि उनीहरू एक ठाउँमा उभिएका थिए । परिस्थितिले देउवा पहिला प्रधानमन्त्री भए । त्यसपछि देउवाको अग्रता स्थापित भयो । पौडेल प्रधानमन्त्री र पार्टी सभापति अहिलेसम्म बन्न सकेका छैनन् ।

देउवालाई गम्भीर चुनौती खडा भए पनि त्यसको लाभ पौडेलले पाउन नसक्ने दाबी खनालको छ । उनका अनुसार संस्थापन पक्षमा देउवा नै उम्मेदवार हुन्छन् । उनले छाड्ने सम्भावना अहिलेसम्म नदेखेको खनालले बताए ।

‘पार्टीमा देउवाको भन्दा कम योगदान पौडेलको छैन । अझ ०४६ सालको अन्तिमतिर शेरबहादुरको भूमिकाबारे प्रश्न उठे तर पौडेलमाथि प्रश्न गर्ने ठाउँ छैन तर राजनीतिमा निष्ठाले मात्रै सबै काम गर्दैन,’ उनले भने, ‘पौडेललाई अघि बढाउँदा शेरबहादुरले आफूलाई कुनै लाभ हुने देखेका छैनन् । पौडेल हुनु र नहुनुमा उनलाई खासै अर्थ राख्दैन ।’

चारपटक प्रधानमन्त्री र दुईपटक सभापति भइसकेका देउवालाई त्याग गर्न पौडेलले पटकपटक आग्रह गर्दै आएका छन । समकालीन साथीकै लागि त्याग गर्दा राम्रो हुने उनको भित्री बुझाइ छ । संस्थापनपक्षकै कतिपय नेताले समेत देउवा उम्मेदवार नबन्ने अवस्थामा विकल्प उनी नै हुन् भन्दै पौडेललाई आशा देखाउने गरेका छन् ।

‘देउवा आफैँ उम्मेदवार बन्न नहुने परिस्थिति खडा भयो भने उहाँले भनेकै नेता उम्मेदवार हुन्छ भन्न सकिन्न । त्यतिबेला टिमको पनि कुरा हुन्छ,’ देउवानिकट एक पदाधिकारीले भने, ‘सबैलाई नेता मान्न सहज हुने, पार्टीलाई हाँक्न सक्ने र अहिले देखिएका चुनौती सामना गर्न सक्ने नेतृत्व रोज्नुपर्ने हुन्छ ।’

उनका अनुसार देउवा र पौडेलबीच सभापति एउटा बन्ने र अवसर आउँदा अर्को प्रधानमन्त्री बन्ने गरी पहिला सहमति जुटाउन प्रयास पनि हुन्छ । त्यस्तो प्रयास अहिल्यै सुरु भएको दाबीसमेत उनले गरे ।

‘भएन र छाड्नैपर्ने अवस्था बने त समकालीन साथीका नाताले देउवालाई छाड्दा पनि सजिलो हुने र हामी सबैलाई नेता मान्न सहज हुने त पौडेल नै हुन् । त्यो विकल्पमा पनि कुरा हुन सक्छ,’ उनले भने, ‘तर संस्थापन पक्षकै कतिपयले देउवापछि निधिको दाबी प्राकृतिक भएकाले संस्थापनबाट उनैलाई उम्मेदवार बनाउनुपर्ने दबाब पनि आउँछ ।’

अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य जित सुनिश्चित नभए सभापतिमा देउवाले प्रतिस्पर्धा नगर्ने दाबी गर्छन् । उनले आफू अनुकूल परिस्थिति बनाउन समयभित्र महाधिवेशन नगराउनेलगायत कदमसमेत उठाउन सक्ने उनको बुझाइ छ ।

‘गराउनैपर्ने बाध्यता आए पनि उनी आफै पहिलो उम्मेदवार हुन्,’ उनले भने, ‘दोस्रो राउन्डमा पनि जित्ने सुनिश्चित नभए मात्रै विकल्प खोज्ने हुन् । त्यस्तो बेला उनको रोजाइ पौडेल नभएर महामन्त्री शशांक हुन्छन् ।’

१३ औं महाधिवेशनमा देउवा र शशांकबीचको अघोषित समझदारीसमेत भएको दाबी कांग्रेसकै नेताहरूले गर्दै आएका छन् । त्यतिबेला सभापतिमा देउवा र महामन्त्रीमा शशांकलाई सघाउने समझदारी भएको दाबी उनीहरूको छ ।

१४ औं महाधिवेशनमा आफूलाई सभापति बनाउने वचन दिएको संकेत केही दिनअघि महामन्त्री शशांक कोइरालाले कान्तिपुर टेलिभिजनको फायरसाइडमै गरेका थिए । त्यसैकारण सभापतिका कमी कमजोरीलाई साढे तीन वर्षसम्म कोइरालाले साथ दिएको आरोप अहिले पनि संस्थापन इतर पक्षका नेताले लगाउँदै आएका छन् ।

आफू नहुँदा शक्ति अभ्यासमा फरक नपर्ने, आफूले टिम बनाउन सकिने र आफैँबाट पार्टीसमेत चलाउन सकिने भएकाले देउवाको रोजाइ पौडेलतिर भन्दा शशांकतिरै भएको आचार्य बताउँछन् । ‘देउवा र पौडेल पृथक् हुन् भन्ने कुरा कार्यकर्ताले सोचेका छैनन्, देउवाको तुलनामा पौडेलको छुट्टै आदर्श छ ।

सत्तामा बसे पनि उनीविरुद्ध औंलो उठाउन सकेका छैनन्,’ उनले भने, ‘देउवालाई सजिलै छाड्न दिने पक्षमा उनको परिवार (श्रीमती आरजु) र व्यापारीहरू समेत देखिएका छैनन् । निधिकै उम्मेदवारीका कारण छाड्ने परिस्थिति बन्यो भने कांग्रेसका लागि सुखद पक्ष हुनेछ ।’

प्राध्यापक खनाल पनि देउवाको निकटता पौडेलतिर भन्दा शशांकतिरै हुने बताउँछन् । देउवा र पौडेलनिकट हुन सक्ने गरी समान उद्देश्य र विचार कतै नदेखिने उनको भनाइ छ । ‘पौडेलले बोक्ने कार्यक्रमको देउवालाई कुनै अर्थ छैन ।

देउवाले पौडेललाई अपरिहार्य व्यक्तिका रूपमा मानेका पनि छैनन् । मानेको भए आफू नहुँदा भन्न सक्थे,’ खनालले भने, ‘आफू हुन नसके नरुचाएको मान्छे आउन नदिने हो । यस हिसाबले पौडेलभन्दा बरु शशांक नै नजिक देखिन्छन् तर देउवाको प्राथमिकता आफै हो ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७