आफ्नै १३ वर्षीया छोरीलाई गोली हान्ने बाबु कारागार चलान


७ कार्तिक २०७७, शुक्रबार

ओखलढुङ्गा, ७ कार्तिक । ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक बाबु कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् ।

ओखलढुङ्गा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो ।

तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा बन्दुक प्रहार गरेका थिए । बन्दुकको छर्रा लागेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आरोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो ।

दाहिने खुट्टाको घुँडाभन्दा माथि बन्दुकको छर्रा लागेर घाइते बालिकाको उपचार भइरहेको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन शुरु गरेका छन् । अहिलेसम्म १६ हजार २७५ सहयोग उपलब्ध गराइएको वडाध्यक्ष सुनुवारले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७