धरानका दुई संक्रमित महिलामध्ये एकको नोबेल र अर्कोको विपीमा बेड नपाउँदा घरैमा मृत्यु


७ कार्तिक २०७७, शुक्रबार
Nobel Medical Collage

सुनसरी, ७ कार्तिक । कोरोना भाइरस संक्रमणबाट धरानका थप दुई महिलाको ज्यान गएको छ ।
कोरोना संक्रमणबाट धरान उपमहानगरपालिका–८ का दुई महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ५४ वर्षीया महिलाको विराटनगरस्थित नोबल अस्पतालमा र ६० वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

कोरोना पुष्टि भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गर्न खोज्दा बेड अभाव भएपछि ५४ वर्षीया महिलालाई नोबल अस्पताल लगिएको थियो ।

बेड नपाएर ६० वर्षीया महिला होम आइसोलेसनमै बस्न बाध्य भएकी थिइन् । यससँगै धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । यिनमा होम आइसोलेसनमै मृत्यु हुनेको संख्या १७ छ ।

विपी प्रतिष्ठानमा संक्रमितको उपचारका लागि ६० हजार धरौटी
यसैबीच सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोहीअनुसारको धरौटी राख्ने व्यवस्था लागु गरेको छ ।

अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले एक सूचना प्रकाशन गरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशननुसारको शुल्क निर्धारण गरिएको जनाएका छन् । उनका अनुसार कुनै लक्षण नभएका सङ्क्रमितले रु सात हजार धरौटी राख्नुपर्ने र प्रतिदिन दुई हजार शुल्क तिर्नुपर्नेछ ।

हल्का लक्षण भएकाहरु रु १२ हजार धरौटी राखेर भर्ना हुन सक्ने र प्रतिदिन तीन हजार ५०० शुल्क तिर्नु पर्नेछ । मध्यम लक्षण भएका बिरामीले रु ३५ हजार धरौटी र प्रतिदिन शुल्क सात हजार ५०० तिर्नुपर्नेछ । यस्तै गम्भीर लक्षण भएका बिरामीले ६० हजार धरौटी राखी दैनिक १५ हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

आर्थिक रुपले विपन्न, अशक्त र असहाय, असहाय एकल महिला, अपांगतायुक्त र ज्येष्ठ नागरिकलाई भने लक्षण देखिएमा सिफारिस तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गरिने जनाइएको छ । प्रतिष्ठानले पिसिआर परीक्षणका लागि दुई हजार २०० शुल्क तोकेको छ ।

यसअघि प्रतिष्ठानले सङ्क्रमितको उपचार निःशुल्क गर्दै आए पनि मन्त्रालयले शुल्क लिएर उपचार गर्न परिपत्र गरेपछि शुल्क निर्धारण गरेको हो । सरकारले कोरोना सङ्क्रमितका हकमा १४ दिनसम्म आइसोलेशनमा बस्ने प्रावधान बनाएकामा अहिले लक्षण नदेखिएका हकमा १० दिनमै घर फिर्ता गराउने र एक सातासम्म बिरामी स्वयंले होम आइसोलेशनमा बस्नुपर्ने मापदण्ड बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७