कोरोनाले पर्यटन क्षेत्र थिलथिलो, व्यवसायीलाई बैंकको ब्याज तिर्नै समस्या


८ कार्तिक २०७७, शनिबार
kanyam

मोरङ, ८ कार्तिक । कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । कोरोनाका कारण बाह्य र आन्तिरक पर्यटकको चहलपल नभएपछि पूर्व क्षेत्रमा खुलेका ठूलो लगानीका होटल, पार्क मात्रै होइन विभिन्न ठाउँमा खुलेका होमस्टे पनि समस्यामा पर्न थालेका छन् ।

यससँगै पर्यटन क्षेत्रको सम्भावना बोकेको प्रदेश १ का विभिन्न स्थानमा ठूलो लगानीमा पार्क, रिर्सोट, खुल्ने क्रममा रहेको छन् । तर, गत चैत ११ गतेबाट सुरू भएको लकडाउनका लागि आकर्षक मानिएको प्रदेशका पार्क तथा रिसोर्टहरू बन्द भएसँगै आर्थिक भारबाट थलिएका छन् ।

सुनसरीको इटहरी उपमहागरपालिकामा ओसियन पार्क एण्ड रिसोर्ट, मोरङको बेलबारीस्थित ड्रिम गार्डेनलगायत फन पार्कको अवस्था दिनानुदिन खस्किँदै गएको छ । त्यसैगरी, इटहरीको तालतलैयामा सञ्चालनको तरखरमा रहेको ठूलो लगानीको एम्युजमेन्ट एण्ड वाटर पार्क अन्योल अवस्थामा रहेको छ । पर्यटन क्षेत्रमा सम्भावना बोकेको भए पनि अहिलेको विषम परिस्थितिमा सरकारबाट राहत प्याकेज आउन नसक्दा लगानीकर्ता निराश देखिएका छन् ।

इटहरीको तालतलैयामा करिब ४० करोड रूपैयाँको लगानीमा सञ्चालनमा आउने तयारीमा रहेको एम्युजमेन्ट एण्ड वाटर पार्क बन्दाबन्दीको असरले रोकिएको छ । छिमेकी राष्ट्र भारत, पर्यटन वर्षलाई केन्द्रित गरेर करिब ६ विघा क्षेत्रफलमा सञ्चालनमा आउन लागेको पार्कका सञ्चालक विनोद पौडेलले लगानी ठूलो भएसँगै आर्थिक भारको समस्या उत्पन्न हुने बताउँछन् ।

‘कोरोना भाइरसको परीक्षण दायरा बढाउँदै सरकारले सुरक्षित बनाउन सके प्रदेशका पार्कहरू खोल्न तयार अवस्थामा रहेको छ,’ पौडेलले भने, ‘पार्क खोल्नका लागि करिब ६० जना कर्मचारी दरबन्दीदेखि व्यवस्थापन कार्य सकिसकेको अवस्थामा बन्दाबन्दीले प्रभाव पार्‍यो । सरकारले पर्यटकीय क्षेत्रका लागि टेवा पुर्या उने पार्क तथा रिर्सोटहरूमा ध्यान पुर्यापउन सकेको छैन ।’

सरकारले लगानीकर्ताको लगानी सुरक्षित बनाउनका लागि राहत प्याकेज दिन नसकेको बताउँदै, पौडेले भने, ‘सरकारले बैंकको ऋण, किस्ता ब्याजतिर्ने समयावधि केहीसमय थप गर्नुपर्छ । आम्दानी हुने ठाउँ नै बन्दा भएपछि बैंकको किस्ता ब्याज कहाँबाट तिर्नु, यो समस्या जटिल बनाउँदै गएको छ ।’ प्रदेश १ मा ठूलो लगानी र बृहत् रिसोर्टका रूपमा आउन लागेको पार्क दुई वर्ष अघिबाट निर्माण सुरू भई गत चैतबाट सञ्चालनमा ल्याउने तयारीमा रहेको थियो ।

त्यसैगरी, करिब ८ वर्षअघि २१ करोडको लगानीमा खुलेको ओसियन पार्कका सञ्चालक डम्बरबहादुर तामाङका अनुसार सिजन सुरू हुने समयबाटै लकडाउन हुँदा प्रत्यक्ष असर परेको बताए । ‘विगतका समयमा पार्क सञ्चालन भइरहँदा लगानीको ऋण कम गर्दै आएको थिएँ,’ तामाङले भने, ‘कोरोनाको महामारीले गर्दा लगानी नै डुब्न लाग्यो ।’

लकडाउनसँगै पार्क बन्द भएपछि ठूलो आर्थिक समस्या झेलिरहनु परेको छ । ‘बन्दले गर्दा आम्दानी छैन,’ तामाङले भने, ‘कहाँबाट र कसरी कर्मचारी व्यवस्थापन गर्ने समस्या त छँदैछ । अर्कोतर्फ पार्क निर्माण गर्दा लिएको ऋण कसरी तिर्ने भन्ने चटारो भएको छ ।’

बैंकले किस्ता बुझाउन ताकेता गरिरहेको छ भने विद्युत् प्राधिकरणको पनि शुल्क बुझाउन समस्या भइरहेको छ, तामाङले भने, ‘पार्कमा जडान गरिएको विद्युत् मनोरञ्जनको भनेर अरुको भन्दा बढी तिर्नुपर्छ ।’

स्वीमिङ पुललाई केन्द्रित गरी प्रदेशमै पहिलो पार्कका रूपमा खोलिएको ओसियनमा हाल जिम, रेष्टुरेन्ट, रिसोर्टको सुविधा छ । फागुनदेखि कात्तिकसम्म पार्कको मुख्य सिजन भएको र त्यस समयमा पूरै बन्द गर्नु पर्दा धान्न गाह्रो हुन थालेको बताए । भर्खरैदेखि पार्क खोले पनि कोही पनि नआउने गरेको उनले बताए। सरकारले हामी जस्ता व्यवसायीलाई राहत दिने खालका योजना ल्याउनु पर्छ तामाङले भने ।

त्यसैगरी, ७ करोडबाट सुरू भएको बेलबारीस्थित ड्रिम गार्डेनको अवस्था पनि उस्तै रहेको छ । विजय सुवेदीले सञ्चालनमा ल्याउने तयारी गरिरहँदा उनको रिर्सोट बन्दाबन्दीको शिकार भएको छ । ‘फागुन अन्त्यबाट गार्डेन सञ्चालनमा ल्याउन लागेका थियौं,’ सुवेदीले भने, ‘लकडाउनसँगै आर्थिक अवस्थाका कारण गार्डेनसँगै अन्य दुई वटा प्रोजेक्टको काम बन्द गर्नु पर्‍यो ।’

स्थानीय क्षेत्रको विकास र रोजगारीका लागिसमेत टेवा पुग्ने हेतुले गार्डेन सञ्चालनमा ल्याएको र हाल गार्डेनलाई सेनिटाइज, ब्लिचिङ गर्ने कार्य गरिरहेको सुवेदीले बताए । ‘कोरोनाका कारण बन्द रहेको अवस्थामा अहिलेसम्म गार्डेनका कर्मचारीलाई जसोतसो खर्च धानिरहेको छ,’ सुवेदीले भने, ‘ऋणको समयावधि लम्बाउन र किस्ताको रकम छुट गर्न सकिए सहज हुने थियो ।’ बजार सुपर मार्केट पसल खुला भए पनि मानिसहरू न्यून मात्रमा पार्कमा आउने गरेको बताए ।

इलामामा पर्यटकहरू आउने क्रम जारी रहेको र विगतका तुलनामा आधाभन्दा कम मात्रै घुमफिर गर्न आइरहेका छन् । इलामाको श्रीअन्तुमा रहेको अन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले कोरोनाका कारण पर्यटक आउने संख्यामा कमी आएको छ ।

‘सिजन सुरू भइसक्दा पनि पर्यटक आएका छैनन्,’ अध्यक्ष आलले भने, ‘विगतका वर्षहरूमा यो सिजनमा श्रीअन्तुका होमस्टे पूरै भरिन्थ्यो र पर्यटकहरू अन्य ठाउँमा रहेको होमस्टेमा जाने गर्नुहुन्थ्यो । तर, अहिले त्यस्तो छैन ।’

अहिले सामान्यरूपमा आउने गरेका छन् । सरकारले तोकेको मापदण्डअनुसार होमस्टे सञ्चालन गरिरहेका छौं, आलेले भने । ‘अन्य वर्षको तुलनामा अहिले आधाभन्दा पनि कम पर्यटक आउनु भएको छ,’ आलेले भने, ‘यहाँका होमस्टे चैत ९ गतेदेखि असोज ९ गतेसम्म ६ महिना पूर्णमा बन्द गरेका थियौं ।’

घरमै बसेर सञ्चालन गर्ने गरेको हुँदा ठूलो लगानीका होटलको जस्तो घाटा वा जोखिम नभएको आलले बताए । उनले भने, ‘यहाँका १–२ जना साथीले नयाँ डिजाइनको घर बनाउँदा अलि अलि बैंकको ऋण लिनु भएको छ । उहाँहरूलाई बन्दले असर पक्कै गर्‍यो ।’ यस सामुदायिक होमस्टेअन्तर्गत करिब ६३ वटा सञ्चालनमा रहेको छ ।

कोरोना महामारीकै कारण विराटनगरको पुरानो होटल नमस्कार, जेनियलसमेत बन्द भएको छ । बाह्य तथा आन्तिरक पर्यटक नआउँदा आर्थिक समस्याका कारण होटल बन्द गर्नु परेको व्यवस्थाकहरूले बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७