प्रमलाई कांग्रेसको आग्रह : पर्साका नेकपा कार्यकर्ताका हत्यारालाई पक्राउ गरी कारवाही गर्नुस्


८ कार्तिक २०७७, शनिबार
c3c5366065023ea10a21fe8ba7974d55 w1000 h500 cp 2

काठमाडौं, ८ कार्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पर्सामा नेकपा कार्यकर्ता हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ ।

बिहीबार पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाकै दुई समूहबीच झड्प हुँदा गाउँपालिकाका सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्या भएको थियो ।

प्रहरीले उक्त हत्यामा संलग्नलाई कारबाही गर्नका लागि जाहेर समेत लिन अस्वीकार गरेको भन्दै कांग्रेसले शनिबार एक विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ? पर्साबाट घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं’, प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले घटना भएको तीनदिन बित्दा समेत प्रहरीले जाहेरी लिन अस्वीकार गरेका कारण अस्पतालबाट शव समेत नउठेको भन्दै घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

‘घटना विवरण अत्यन्तै दुःखद् छ। अतः पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

नागरिकको जीवन रक्षा राज्यको प्रथम कर्तव्य भएको बताउँदै कांग्रेसले नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्लामा कयौं हत्या भएको र सत्तारुढ दलका कार्यकर्ताबाट आधादर्जन भन्दा बढी कांग्रेस कार्यकर्ता मारिएको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले सत्ता उन्मादमा रहेको दलभित्रको द्वन्द्वले हाफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको ठहर गरेको छ ।

‘पर्साको घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेको दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कार्वाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो । तर ३ दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ ।’

c

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७