नेकपा प्रवक्ता श्रेष्ठ भन्छन्, ‘प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मर्यादा विपरीत’


९ कार्तिक २०७७, आईतवार
narayankaji shresth

काठमाडौं, ९ कार्तिक । सत्तारुढ नेपाल कन्युनिष्ट पार्टी (नेकपा) कै प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त्कुमार गोयलबीचको भेट कुटनीतिक मर्यादा विपरीत भएको बताएका छन् ।

नेपालमा ३७ बढी वौद्धिक व्यक्तित्वहरुले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुख सामन्त गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको निष्कर्ष निकालिरहेका बेला स्वयमु सत्तारुढ दलका प्रवक्ता श्रेष्ठले पनि यस भेटलाई मर्यादा विपरीतको भेट भएको बताएका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ? यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’

प्रधानमन्त्री ओलीले गत बिहीबार राति ‘रअ’का प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना गोयललाई भेटेको बारे नेकपालाई कुनै पूर्व जानकारी नभएको र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल नभएको नेता श्रेष्ठको भनाइ छ ।

आफ्नो व्यक्तिगत विचार भन्दै श्रेष्ठले लेखेका छन्, ‘मेरो विचारमा नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले विना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादा विपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको ।’

n

नेता श्रेष्ठ अगाडि लेख्छन्, ‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ ।

विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन ।

‘यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’

स्रोतहरुका अनुसार प्रधानमन्त्री ओलीकै पहलमा गोयल नेपाल भ्रमणमा आएका हुन् । र, भ्रमणको उद्देश्य नेपाल कम्युनिष्ट पार्टीभित्रको अवस्थाबारे जानकारी लिनु र नेपाल–भारत सम्बन्धका बारेमा छलफल गर्नु हो ।

प्रधानमन्त्री ओलीले पनि भारतसँग सम्बन्ध सुधार गर्नका लागि गोयललाई बोलाएको हुन सक्ने कूटनीतिक मामिलाका विश्लेषकहरु बताउँछन् । तर, यसका लागि प्रधानमन्त्री ओली प्रचण्ड, माधव नेपाललगायत आफ्नै पार्टीका नेताहरुसँग सल्लाह नगरी आफ्नै ढंंगबाट अगाडि बढ्न खोजेको देखिएको छ । र, यही कारणले भारतीय गुप्तचरको आगमनलाई सत्तारुढ दलका नेता र नागरिक अगुवाहरुले निको मानेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७