बेंगलोरमाथि चेन्नईको ८ विकेटको जित


९ कार्तिक २०७७, आईतवार
Dhoni Gaikwad 1024x642 1

काठमाडौं,९ कार्तिक । इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले जितकाे छ ।

जितका लागि १ सय ४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । चेन्नईको सानदार जितमा युवा ओपनर रितुराज गायकवाड ५१ बलमा ४ चौका र ३ छक्का सहित ६५ रनमा अविजित रहे । कप्तान महेन्द्रसिंह धोनी २१ बलमा ३ चौका सहित १९ रनमा अविजित रहे । रितुराजले १९ औं ओभरको चौथो बलमा क्रिस मोरिसलाई छक्का प्रहार गर्दै चेन्नईलाई सानदार जित दिलाएका थिए ।

चेन्नईलाई ओपनर रितुराज र फाफ डु प्लेसिसले ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । छैटौं ओभरको पहिलो बलमा क्रिस मोरिसले मोहम्मद शिराजबाट २५ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । डु प्लेसिसले १३ बलमा २ चौका र २ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि रितुराज र अम्बाती रायुडुले ६७ रनको साझेदारी गर्दै सहज जिततर्फ लम्काएका थिए ।

रायुडुलाई १४ औं ओभरको तेस्रो बलमा युजभेन्द्र चहलले ३९ रनमा बोल्ड आउट गरे । रायुडुले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे । बेंगलोरका क्रिस मोरिस र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । बेंगलोरका कप्तान विराट कोहलीले ४३ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिएपनि जितको लागि प्रयाप्त रहेन ।

चौंथो ओभरको पाँचौ बलमा ओपनर आरोन फिन्चलाई साम करनले १५ रनमा रितुराज गायकवाडबाट क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । फिन्चले ११ बलमा ३ चौका प्रहार गरे । सातौं ओभरको पहिलो बलमा मिचेल सान्टनारले अर्का ओपनर देवदत्त पाडिक्कललाई २२ रनमा रितुराजबाटै क्याच गराउँदै पेभिलिएन फर्काए । पाडिक्कले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

दीपक चहरको १८ औं ओभरको तेस्रो बलमा एबी डिभिलियर्स ३९ रनमा फाप डु प्लेसिसबाट क्याच आउट हुन पुगे । डी भिलियर्सले ३६ बलमा ४ चौका प्रहार गरे । मोईन अलीलाई करनले एक रनमा क्याच आउट गराए । वासन्टन सुन्दर ५ रनमा अविजित रहे ।

साम करनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनारले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । दीपक चहरले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । चेन्नईले अव बिहिबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बेंगलोरले बुधबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

आइपिएलको अंक तालिका

मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ११ खेलमा ७ मा जित र ४ मा हार दोस्रो स्थानमा छ । बेंगलोर ११ खेलमा ७ मा जित र ४ मा हार सहित तेस्रो स्थानमा छ ।

कोलकाता ११ खेलमा ६ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ । पन्जाब ११ खेलमा ६ मा हार र ५ मा जित सहित १० अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । सनराइजर्स हैदराबाद ११ खेलमा ७ मा हार र ४ मा जित सहित छैटौं स्थानमा पुगेको छ ।चेन्नई सुपर किंग्स १२ खेलमा ८ मा हार र ४ मा जित सहित सातौं स्थानमा छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित पुछारमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७