बाँकेका प्रजिअ कुरुम्बाङलाई कोरोना संक्रमण


१२ कार्तिक २०७७, बुधबार
rambdr limbu 19os2ZI7qh

बाँके, १२ कार्तिक । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवासमै आइसोलेसन बसेका छन् । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफूमा सङ्क्रमण पुष्टि भएको जानकारी गराउँदै आफूसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । बाँकेमा यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई सङ्क्रमण देखिएको थियो ।

यसैबीच बाँकेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २० सङ्क्रमित सिकिस्त रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा १२ र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २० सङ्क्रमित सिकिस्त रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पतालमा ३४ मध्यम र ३ सामान्यखालका बिरामी छन् । त्यस्तै शिक्षण अस्पताल कोहलपुरमा १२ मध्यम र १६ सामान्य खालका विरामी स्वास्थ्य लाभ गरिरहेका
छन् । भेरी अस्पताल नेपालगञ्जमा २७ महिला र २२ पुरुष, शिक्षण अस्पताल कोहलपुरमा १४ महिला र २२ पुरुष उपचाररत रहेको श्रेष्ठले बताए । बाँकेमा १ सय ९२ सङ्क्रमितले होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७