बाँझो जग्गामा मिश्रित खेती प्रणाली फस्टाउँदै


१२ कार्तिक २०७७, बुधबार
khet bajho gN7qkGYKvC

म्याग्दी, १२ कार्तिक । हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय मिश्रित खेती प्रणाली फस्टाउँदै गएको छ । एउटै जग्गामा एक भन्दा बढी बाली (खाद्यान्न,फलफूल र तरकारी) लगाएपछि साविकको भन्दा धेरै आम्दानी हुने भएकोले किसानहरु मिश्रित खेतीतर्फ आकर्षित भएका हुन् ।

बेनी नगरपालिका वडा नं २ बगरफाँटका दुर्गाबहादुर थापाले काठमाण्डौंबाट फर्केर गत चैतमा शुरु गरेको केरा खेतीसंगै डाले घाँस र कोदोखेती अहिले निकै राम्रो भएको छ । त्यसैगरी बेनी नगरपालिका २ खबराका कृषक चन्द्रबहादुर कार्कीले आफ्नो १८ रोपनी जग्गामा मिश्रित मौसमी तथा बेमौसमी तरकारी खेती गरेर लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । कार्की जिल्लामा मिश्रित खेती प्रणालीका अगुवा कृषक समेत हुन् ।

कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायत तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल लहलह झुलिरहेका र लटरम्म फलिरहेका देखिन्छन् ।

गोठमा भैंसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछापालनबाट पनि कार्कीले मनग्गे आम्दानी गर्दै आएका हुन् ।

‘मैले १८ वर्षको उमेरदेखि तरकारी खेती शुरु गरेको हुँ’, ५४ वर्षिय कार्कीले विगत कोट्याउँदै भने, ‘त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै प्रस्ताव आएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेशा शुरु गरेँ, अहिले त्यतिबेला मैले सही निर्णय गरेको रहेछु भन्ने लाग्छ ।’

तीन दशक अघि १ हजार रुपैँया लगानीबाट शुरु गरेको व्यावसायिक तरकारी खेतीले कार्कीलाई अहिले निकै लाभ भएको छ । तरकारी बिक्रीबाट आएको आम्दानीले कार्कीले बेनी बजारको मंगलाघाटमा घडेरी किनेर घर बनाइसकेका छन्।

‘माटोसँग खेल्दा र माटोमा पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ’, कार्कीले भने, ‘यही माटोमा गरेको परिश्रमले मलाई यहाँसम्म ल्याइपुर्‍यायो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न मैले यत्तिको कमाउन सक्थेँ, न मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो’, कार्कीको भनाइ छ ।

कार्कीकै देखेर पछिल्लो समय म्याग्दीमा मिश्रित खेती पद्धती अपनाउने कृषकहरुको संख्या बढेको छ । कार्कीले भने, ‘मिश्रित खेती गर्दा एकल खेती भन्दा तीनगुणा बढी आम्दानी लिन सकिन्छ ।’

कृषि प्राविधिकहरुका अनुसार मिश्रित खेतीप्रणाली नेपालमा परापूर्वकालदेखि चल्दै आएको हो । साधारणतया मिश्रित खेती गर्दा विभिन्न बालीहरू जस्तैः मकै, बोडी र फर्सी लगाउने गरिन्छ । एउटै बालीभित्र पनि विभिन्न जातहरू जस्तैः गहुँका जातहरू मिसाएर लगाउने परमपरागत चलन छ । मुख्यतया एकभन्दा बढी बाली वा जातहरू मिसाएर लगाउने प्रणालीलाई मिश्रित खेतीप्रणाली भनिन्छ ।

खबराकै अर्का कृषक शोभित सापकोटाले पनि मिश्रित बालीबाट मनग्गे आम्दानी गरेका छन् । उनले एकै ठाउँमा केरा, साग, उखु र खुर्सानी खेती गरेर एकल बालीको तुलनामा तेब्बर आम्दानी हुने गरेको बताए ।

मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले पछिल्लो समय म्याग्दीमा मिश्रित खेती प्रणाली मौलाउँदै गएको र यसबाट कृषकहरुले राम्रो आम्दानी गर्न सफल भएको बताए । जिल्लाका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका दुई सयभन्दा बढि कृषकहरुले मिश्रित खेती गर्दै आएका स्थानीय तहका कृषि शाखाले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७