धानखेतमा फालिएको अवस्थामा भेटियो ठूलो संख्यामा स्मार्ट लाइसेन्स


१३ कार्तिक २०७७, बिहीबार
77f3153408b34ba093ca4ea84cf89f76 w1000 h500 cp

जनकपुरधाम, १३ कार्तिक । प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधाममा स्मार्ट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) धान खेतमा फालिएको अवस्थामा भेटिएको छ ।

जनकपुरको यातायात व्यवस्था कार्यालयमा भेटिनुपर्ने तीन सय स्मार्ट लाइसेन्स धान खेतमा फेला परेको हो । जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिया स्थित रहेको यातायात व्यवस्था कार्यालयभन्दा करिब दुई सय मिटर पूर्व धान खेतमा झण्डै तीन सय लाइसेन्स फेला परेको हो ।

धान काट्न गएका महिलाहरुले तीन सय स्मार्ट लाइसेन्स फेला पारेको यातायात व्यवस्था कार्यालय जनकपुरका अधिकृत बिरेन्द्र साहले जानकारी दिएका छन् । यत्रतत्र छरिएर रहेको अवस्थामा स्मार्ट कार्ड महिलाहरुले संकलन गरी ल्याएर कार्यालयलाई बुझाएका छन् ।

कसैले उक्त लाइसेन्स लगेर रिसीबी साँध्न फालेको हुन सक्ने उनको भनाइ छ । यातायात कार्यालयका कर्मचारीको सेटिङमा बिचौलियाहरुको प्रभाव बढी रहेको छ । बिचौलियाले आफूखुशी फाइलहरु खोज्ने काम गर्ने गराउने गर्दछन् ।

यातायात व्यवस्था विभागबाट बनाएर आएको स्मार्ट लाइसेन्स लिन सर्वसाधारण जाँदा नभेटिने गुनासो सुनिन्छ । यातायात कार्यालयका प्रमुख विपीन लालकर्णले लाइसेन्स धानखेतमा भेटेको जानकारी आफूले पाएको बताए । तर के कसरी धानखेतमा लाइसेन्स पुग्यो भन्ने कुराको खोजबिन गर्ने उनको भनाइ छ । हाल उनी काठमाडौंमा छन् ।

केही दिनअघि मात्र जनकपुरधाम उपमहानगरपालिका ८ का उमेश कुमार महतो आफ्नो स्मार्ट लाइसेन्स लिन यातायात कार्यालय गएका थिए । उनको अगाडि र पछाडि दुवैको स्मार्ट लाइसेन्स आइसकेको थियो तर उनको स्मार्टकार्ड कार्यालयमा थिएन । उनलाई कार्यालयका कर्मचारीले निकै दौडधुप गराए ।

‘दुई दिनको दौडधुप र हैरानीपछि पनि मेरो स्मार्टकार्ड भेटिएन । अन्तमा एक जना कर्मचारीले कार्यालयबाट फेरि यातायात व्यवस्था विभागमा निवेदन पठाई दिने र आएपछि लिन आउनु होला भनि फर्काए’ उमेशले भने ।

उमेश एक उदाहरण पात्र मात्र हुन् । उनी जस्ता कयौं सर्वसाधारण आफ्नो स्मार्टलाइसेन्स लिन आउँछन् । लाख कोशिस गर्दा र हैरानी हुँदा नभेटेपछि निरास भएर फर्केर जाने गर्दछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७