घटे डोजर : बढे रोजगार


१३ कार्तिक २०७७, बिहीबार
dojar

ओखलढुङ्गा, १३ कार्तिक । ओखलढुंगाका स्थानीय तहले डोजरको प्रयोग घटाएर स्थानीय युवालाई रोजगारी दिन थालेका छन् ।

विगतमा विकासनिर्माणका सबैजसो काममा डोजरको प्रयोग हुुने गरेको थियो । यस वर्ष डोजरसहितका मेशिनको प्रयोग घटाएर स्थानीय तहले युवाहरुलाई विकास निर्माणको काममा परिचालन गरेका हुन् ।

कोरोनाको कहरका कारण रोजगारी गुमाएर गाउँ फर्किएका युवालाई आर्थिकोपार्जनको अवसर दिएर दिगो विकासमा सहभागिता बढाउने नीति लिइएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए ।

सडक मर्मत तथा निर्माण र अन्य पूर्वाधार विकासका काममा पनि स्थानीय श्रमशक्तिको अत्यधिक प्रयोग गर्ने र विकल्पका रूपमा मात्र यन्त्र प्रयोग गर्ने गरी काम शुरु भएको अध्यक्ष अधिकारीको भनाइ छ ।

अध्यक्ष अधिकारीले विकास दिगो हुने र रोजगारीको अवसर पनि सिर्जना हुने भएकाले पालिकाका सबै ठाउँमा हुने विकासका काम स्थानीय मानिसबाटै गर्न थालिएको स्पष्ट गरे । विकासका काम ठेकेदारमार्फत गर्दा दिगो नभएको भन्ने गुनासो समेत स्थानीय जनशक्ति प्रयोग गर्दा हट्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

जिल्लाका सबैजसो स्थानीय तहको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारीबाट प्रभावित तथा दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने वर्गको आयआर्जनमा सहयोग पुर्‍याउन स्थानीय श्रम शक्तिको परिचालनलाई प्राथमिकतामा दिने उल्लेख गरिएको छ ।

खिजीदेम्बा गाउँपालिकाले विकास निर्माणका आयोजनामा अत्यावश्यक ठाउँमा मात्रै यन्त्र प्रयोग गर्न थालेको छ । विकासका योजनामा ७० प्रतिशत श्रमशक्ति र ३० प्रतिशत यन्त्र प्रयोग गर्ने अवधारणा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए ।

गाउँपालिकाका वडा तहमा सञ्चालित सडक मर्मत तथा निर्माणका योजनामा स्थानीय श्रमशक्रतिलाई नै प्रयोगमा ल्याइएको छ । बिग्रे भत्केका सडक मर्मत तथा यन्त्र आवश्यक नहुने ठाउँको सडक चौडा पार्ने, साधारण मार्ग खोल्नेलगायत काम अहिले गाउँपालिकाका विभिन्न वडामा स्थानीय युवामार्फत नै भइरहेका छन् ।

खिजीदेम्बा– ४ खिजीकातीमा सडक स्तरोन्नतिका लागि रु १७ लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट स्थानीय युवालाई परिचालन गरेर सडक सोलिङको काम थालिएको छ । वडाभित्रका बेरोजगार युवाको तथ्याङ्क संकलन गरी समूहमा विभाजन गरेर विकासका काममा परिचालन गरिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए ।

खिजीकातीमा सांसदको स्थानीय पूर्वाधार साझेदार कार्यक्रमबाट गएको बजेट पनि स्थानीय युवामार्फत नै विकासका काममा खर्च गरिएको छ ।

मोलुङ गाउँपालिकाले बेरोजगार युवा र श्रमिकले रोजगारीका लागि दिएको आवेदनका आधारमा युवा परिचालनको नीति लिएको छ । वडावडामा उपभोक्ता समिति बनाएर स्थानीय श्रमिकमार्फत काम गर्न थालिएको गाउँपालिका अध्यक्ष मणिराज राईले बताए ।

युवा व्यवस्थापनको विषय चुनावी कार्यसूची बनाएका जनप्रतिनिधिले स्थानीय युवा परिचालनको कामलाई विशेष रुपमा लिएका छन् । यसरी भइरहेको विकासका कामको नियमित अनुगमन समेत भएको छ ।

स्थानीय तहमा सडक सामान्य मर्मत तथा अन्य विकासनिर्माणका काममा श्रमशक्तिको उच्चतम प्रयोग हुनु सकारात्मक शुरुआत भएको सरोकार भएकाहरु बताउँछन् । यसले रोजगारी सिर्जना गर्न योगदान पुग्ने, स्थानीयवासीको आयस्रोत बढ्ने र जीवनस्तर माथि उठाउन सहयोग पुग्ने सुनकोशी मिलन समाजका अध्यक्ष जालन्धर कार्कीले बताए ।

कोरोना संक्रमणको जटिलावस्थामा धेरै युवा शहरबाट गाउँ फर्किएको, कतिले रोजगारी गुमाएको र आर्थिक मन्दीले समस्या परेकाले स्थानीय तहको नमूना अनुकरणीय हुने सरोकार भएकाहरु बताउँछन् । विदेशिने तयारीमा रहेका युवा पनि गाउँमै काम पाएपछि विदेशको सपना त्यागेर गाउँको विकासमा जुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७