कोरोनाबाट थप पाँच जनाको निधन


१६ कार्तिक २०७७, आईतवार
korona death 2

पोखरा, १६ कार्तिक । कोरोना भाइरस संक्रमणबाट गण्डकी तीन र कर्णाली प्रदेशमा दुई जना गरी थप पाँच जनाको ज्यान गएको छ ।

गण्डकी प्रदेशको नवलपुर कावासोती–६ का ६७ वर्षीय पुरुष र सोही जिल्ला गैडाकोट–२ का ७७ वर्षीया महिलाको होम आइसोलेशनमा गए राति निधन भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मृतक दुबै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गरेका छन् ।

यसैगरी पोखरा महानगरपालिका–९ का ६२ वर्षीया महिलाको समेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गए राति नै निधन भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।

यस्तै गण्डकीमा थप नयाँ ६३ संक्रमित थपिएका छन् । पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ३७८ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३२ त्यसैगरी क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा थप नयाँ ३० जना गरि ६२ नयाँ संक्रमित थपिएका हुन् ।

कोरोनाबाट बाँके र सुर्खेतमा थप दुईको मृत्यु
बाँके र सुर्खेतमा एक–एक जना कोरोना संक्रमितको गए राति मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टीकापुर नगरपालिका– १ कैलालीका ६० वर्षीय पुरुषको शनिबार राति १ बजे र सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको गए राति ११ बजे मृत्यु भएको हो ।

कैलालीका पुरक्ष कार्तिक १४ गते प्रि–आइसोलेसन वार्डमा भर्ना भएका थिए । उनमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि कोभिड वार्डमा सारेर उपचार भइरहेकोमा शनिबार राति १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । यस्तै सुर्खेतका पुरुषलाई उपचार गर्न प्रादेशिक अस्पतालमा पुर्‍याएको एक घण्टामै मृत्यु भएको थियो ।

अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीका अनुसार उनलाई दशैंको सप्तमीको दिन ज्वरो आएपछि छिन्चुमा टाइफाइ भनेर उपचार गरिएको थियो । औषधिले ठीक नभएपछि बाँकेको कोहलपुर लगिएको थियो ।

तीन दिन अगाडि मात्रै पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे पुर्‍याइएको थियो ।

अस्पतालमा आएको एक घण्टाभित्रै उनको मृत्यु भएको डा. केसीले बताए । उनी पहिलेदेखि नै मानसिक रोगी भएको डा. केसीले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १६ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७