धरानको पहिचान घण्टाघर : गरिबको समय सूचक पनि


१६ कार्तिक २०७७, आईतवार
Dharan Ghantaghar

सुनसरी, १६ कार्तिक । फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाई झन् आकर्षक बनाएको छ ।

लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको छ । हङकङमा रहेका घण्टाघरको डिजाइनमा बनेको घण्टाघर आजभोलि धरानको पहिचान बनेको छ ।

यो घण्टाघर विसं २०६२ पुस २० गतेदेखि औपचारिकरूपमा पर्यटकलाई प्रवेश खुला गरिएको हो । हङकङमा बसोबास गरिरहेका धराने र धरानवासीको यसमा लगानी छ । यो निर्माणका लागि पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बाले अगुवाइ गरेका थिए । उनकै अध्यक्षतामा व्यवस्थापन समिति बनाएर हाल व्यवस्थाप गरिँदै आएको छ । यहाँभित्रको बगैंचा, भूकम्प स्मारक उद्यान आन्तरिक तथा बाह्य पर्यटकलाई अलमलिने, फोटो खिच्ने, आराम गर्ने गन्तव्य बनेको छ ।

घण्टाघरको विशेषता यति मात्र होइन । पर्यटकका लागि घुम्ने स्थान हो भने घण्टाघर नाडीमा घडी नहुने र साथमा मोबाइल नबोक्नेका लागि समय भन्दिने स्थान पनि हो । एकनासले एउटा काममा अलमलिएको बेला घण्टाघण्टामा घण्टाघरको आवाजले चनाखो बनाइदिन्छ ।

धरानका बजार क्षेत्रका मान्छे प्रायः यही घण्टाघरको आवाजले आफ्नो दैनिकी शुरु गर्छन् । ‘बिहान यसैले ब्यँुझाउने गर्छ’, भानुचोकमा पत्रिका बेच्ने व्यवसायी अर्जुन श्रेष्ठ भन्छन्, ‘यो त गरिबको घडी पनि हो ।’

घण्टाघर परिसरमा विसं २०४५ को भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा भूकम्प स्मारक बनाइएको छ । धरानमा त्यसबेला भूकम्पले निकै क्षति पुर्‍याएको थियो । विसं २०४५ भदौ ५ गते बिहान ५ः०० बजे गएको भूकम्पमा देशभर ठूलो जनधनको क्षति भएको थियो । त्यतिबेला धरान नगर क्षेत्रका ११६ जनाको मृत्यु भयो भने एक हजार ५०० जना घाइते भएका थिए ।

त्यतिबेला मृत्यु हुनेहरुको सम्झनामा भूकम्प स्मारक बनाइएको हो । यो पनि यतिबेला पर्यटकको गतव्य बनेको छ । घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट धरान बजारलाई धितमरुञ्जेल हेर्न सकिन्छ । घण्टाघर बाह्य पर्यटकका लागि घुम्ने र स्थानीयवासीलाई भेटघाट, चियागफका लागि पनि सजिलो भएको छ ।

घण्टाघरका सुपरभाइजर केशव न्यौपानेका अनुसार दैनिक सरदर २०० को हाराहारीमा घण्टाघर प्रवेश गर्छन् । उद्यान घुम्न मात्र रु १० शुल्क तिर्नुपर्छ । घण्टाघर चढ्न रु २० शुल्क तिर्नुपर्छ । भिडियो सुटिङका लागि रु ५०० तिर्नुपर्छ तर विगत चैतबाट कोरोनाका कारण घुम्न आउने शून्य भएका छन् ।

धरान उपमहानगरपालिकाको २० वर्षे दीर्घकालीन सोचअनुरूप पर्यटकका लागि थप आकर्षण र धरान नगरको छुट्टै पहिचानसमेत गराउने उद्देश्यले धरानको भानुचोकमा रु ५६ लाख ३९ हजार लागतमा घण्टाघर निर्माण भएको थियो । घण्टाघर धरान हङकङ मञ्चको सहयोगमा निर्माण गरिएको हो ।

हङकङस्थित घण्टाघरकै नमूनाको उक्त घण्टाघर जमिनभन्दा माथि ७६.५ फिट उचाइको छ । ५५ फिटको उचाइमा गएर एकपटकमा करिब ५० जनासम्मले वरिपरि परिक्रमा गर्दै दृष्यावलोकन गर्न सक्नेछन् ।

पूर्वी नेपाल घुम्नका लागि पर्यटकीय ‘हब’ को रूपमा धरान विकास भएको धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारी बताउँछिन् । नेपालकै आधुनिक शहरका रूपमा आफ्नो पहिचान बनाएको धरान पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार पनि हो ।

अण्डरग्राउण्डसहित छ तलामा बनेको घण्टाघरभन्दा वरपरका घरलाई बढी तला थप्न उपमहानगरपालिकाले इजाजत दिएर घण्टाघरलाई ओझेलमा पार्ने काम भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७