घर दैलोमै गर्भपतन सेवा


१६ कार्तिक २०७७, आईतवार
Service provider going comminity for education and service during lockdown
Service provider going comminity for education and service during lockdown.

स्याङ्गजा, १५ कार्तिक । कोरोना भाइरसको महामारीले स्वास्थ्य संस्थामा आउन असम्भव भएपछि स्थानीयपालिकाहरुले प्रजनन् तथा परिवार नियोजनसंग सम्वन्धित सेवाहरु घरदैलोमा दिन थालेका छन् ।

स्याङ्गजाको अर्जुन चौपारी गाउँपालिकाकी १९ वर्षीया दिक्षा शर्मा (नाम परिवर्तन) को हाडनाता भित्रकै किशोरसंग सम्पर्क हुँदा गर्भ वस्यो । १९ वर्षीया ती अविवाहित किशोरी गर्भपतन गराउन जिल्ला अस्पताल स्याङ्गजा अथवा पोखरा जान चाहन्थिन् ।

घटना गत चैत को हो । तर, कोरोना संक्रमणलाई रोक्नका लागि गरिएको बन्दाबन्दीका कारण त्यो सम्भव भएन । किशोर र किशोरी समस्या लिएर गाउँपालिका उपाध्यक्ष चिनमायाँ गुरुङ्ग समक्ष पुगे । “मेरो योजना किशोरीको गर्भपतन गराउने र किशोरलाई कार्वाही गराउने थियो । तर, प्रहरीले पहिला पक्राउ गर्ने अनि गर्भपतन गर्ने भनेर किशोरी परिवारलाई उजुरी गर्न लगाउनुभयो,” उनी भन्छिन् “किशोर पक्राउ परे । त्यसपछि घटना सार्वजनिक भयो । घटना सार्वजनिक भएपछि गर्भपतन गराउने सल्लाह मैले दिइन । मेरो उद्देश्य त किशोरीको जिवन रक्षा गर्नु थियो ।”

घटना सार्वजनिक भएर गाउँ समाजमा बस्न सक्ने अवस्था नभएपछि किशोरीलाई गाउँपालिकाको पहलमा माइती नेपाल काठमाडौंमा पठाइयो । उपाध्यक्ष गुरुङ्गका अनुसार अहिले किशोरीले बच्चा जन्माइसकेकी छिन् ।

उक्त गाउँपालिकामा अर्को यस्तै घटना भएको छ । उक्त गाउँपालिकाका चन्द्र शर्मा (नाम परिवर्तन) र उनकै भाउजुबीचको यौन सम्पर्कले गर्भबस्यो । चन्द्रका दाजु विदेश थिए । अवैध गर्भ बसेपछि देवर भाउजु जसोतसो गर्भपतनका लागि जिल्ला सदरमुकाम स्याङ्गजा गए । तर, त्यहाँ उनीहरुले गर्भपतन गराउन सकेनन् । उनीहरुको सम्वन्धका बारे गाउँमा हल्ला चल्यो । ती महीला समस्या लिएर उपाध्यक्ष चिनमायाँ गुरुङ्गकहाँ गए । गुरुङ्गले गाउँको बहिस्कारमा परेका दुवै जनालाई गाडीको व्यवस्था गरेर पोखरा पठाइन् । “ती महीलालाई हेला नगरी राम्रोसंग राख्ने शर्तमा गाडीको व्यवस्था गरेर पोखरा पठाएँ । अहिले दुवैजना संगै छन्,” उनी भन्छिन् । अवस्था कस्तोसम्म भयो भने उनीहरु गाउँबाट हिंडेको केही दिनमै चन्द्रकी आमाको मृत्यु भयो ।तर, गाउँको बहिस्कारमा परेका उनी आमाको क्रिया गर्न समेत जान पाएनन् । उपाध्यक्ष चिनमायाँ गुरुङ्ग भने ती दुवै घटना बन्दाबन्दीको कारणले भएको बताउँछिन् ।

बन्दाबन्दीको समयमा अस्पतालमा जान नसक्दा अनिच्छित र अवैध गर्भधारणका कारण समस्या परेका छन् । स्थानीय सरकारले त्यसरी समस्यामा परेका महीलाहरुलाई सहयोग पनि गरेका छन् ।
भिरकोट नगरपालिकाले अनिच्छित गर्भधारण भएर समस्यामा परेकी महीलालाई यातायातको व्यवस्था गरेर सहयोग गरेको छ । नगरपालिकाका प्रमुख छायाराम खनालका अनुसार बैशाखको अन्तिम हप्ता एक जना महीला अनिच्छित गर्भपतन जसरी पनि गराउनपर्ने भयो । त्यसका लागि बन्दाबन्दीले यातायातको समस्या भयो । नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा समन्वय गरेर तत्कालिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गबाङले गाडीको व्यवस्था गरिदिए र ती महीलाले वुटवलमा पुगेर गर्भपतन गराइन् ।

घरघरमा सेवा
अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा जाँदा संक्रमणको जोखिम र सहज यातायातको व्यवस्था नभएपछि कतिपय गाउँपालिकाले विभिन्न गैरसरकारी संस्थासंग समन्वय गरेर घरदैलोमै गर्भपतन तथा सुत्केरी परामर्श सेवा सञ्चालन गरेका छन् । यस्तो सेवा सुरु गर्नेमा स्याङ्गजाको अर्जुन चौपारी गाउँपालिका र भिरकोट नगरपालिका पनि हुन् ।

अर्जुनचौपारी गाउँपालिकाकी उपाध्यक्ष चिनमायाँ गुरुङ्ग आइपास नेपालको सहयोगमा महीला स्वास्थ्य स्वयमसेवीका र स्वास्थ्यचौकीका अनमीलाई तालिम दिएर गर्भपतन सेवा गाउँ घरमै दिने व्यवस्था गरिएको बताउँछिन् । गाउँपालिकाले पनि यसवर्ष गर्भपतन सेवालाई घरदैलोमा पुराउनका लागि रु. ५ लाख विनियोजन गरेको छ ।

“कोरोनाको संक्रमणले गर्दा महीलाहरुलाई स्वास्थ्य संस्थामा आउन पनि समस्या भयो, नौ हप्तासम्मको गर्भपतन औषधीले पनि हुँदो रहेछ, त्यसैले स्वास्थ्यकर्मीको समन्वयमा काम गर्ने गरी महीला स्वास्थ्य स्वयम सेविकाहरुलाई परिचालन गरिएको छ,” उनी भन्छिन् “महीला स्वास्थ्य स्यमसेवीकाले भिडियोकल मार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीसंग सम्पर्क गर्नुहुन्छ र महीलाको समस्या अनुसार औषधी दिनुहुन्छ ।” गाउँपालिकाले ३८ जना स्वास्थ्य स्वयमसेवीकाहरुलाई तालिम दिएर घरदैलो सेवा सञ्चालन गरेको उनी बताउँछिन् ।

आइपास नेपालका कन्ट्री डाइरेक्टर डा.पपुलर जेन्टल औषधीद्धारा महीलाहरुले आफै घरमा गर्भपन गर्ने र टेलिमेडिसिन सेवा दिने अन्तराष्टिय अभ्यास रहेको बताउँदै कोभिडलाई लक्षित गरी नेपाल सरकारले पनि यस्तो अभ्यास सुरु गरेको बताउँछन् ।

“पहिला व्यवस्था थिएन । सरकारले अन्तरिम निर्देशिका ल्याएपछि गाउँ गाउँमा टेलिमेडिसन मार्फत गर्भपतन सेवा दिन थालिएको हो । हामीले स्थानीय पालिकालाई यसमा सहयोग गरिरहेका छौं ।”
कोभिड १९ का कारण स्वास्थ्य संस्थामा आउँदा संक्रमण हुनसक्ने, अनि यातायातका साधनको सहज व्यवस्था नभएपछि सरकारले पूर्ववत व्यवस्थामा गरेको परिवर्तनले गर्भपतन लगायत स्वास्थ्य संग सम्वन्धित महत्वपूर्ण सेवाहरु घरदैलोमा पुराउन स्थानीय पालिकाहरुलाई सहज भएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाखमा कोरोना भाईरस रोग (कोभिड—१९) विश्व महामारीको समयमा प्रजनन्, मातृ,नवजात शिशु तथा बाल स्वास्थ्य सेवाकोलागि अन्तरिम मार्गनिर्देशन ल्याएर सेवालाई सहज गराएको थियो । उक्त निर्देशिकाले मान्यता प्राप्त गैरसरकारी वा निजी क्षेत्रका तालिम प्राप्त दक्ष सेवाप्रदायकहरुले औषधीबाट गरिने गर्भपतन सम्वन्धी घरदैलो सेवा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ ।

सुरक्षित गर्भपतन सेवाको बारेमा जानकारी, सेवाको उपलब्धता, विकल्पहरु, खानुपर्ने औषधिको विवरण, र जटिलताका लक्षणहरुको बारेमा सूचना तथा जानकारी दिनका लागि हेल्थपोष्ट तथा प्राथमिक स्वास्थ्य केन्द्रबाट महीलाहरुले टेलिफोनबाट पनि जानकारी पाउन सक्ने व्यवस्था गरिएको छ ।


सरकारले औषधी व्यवस्था विभागबाट स्वीकृत औषधीबाट गरिने गर्भपतनका औषधीहरुको भण्डारण तथा वितरण गर्नका लागि सूचिकृत औषधालहरु तथा तालिम प्राप्त औषधी विक्रेताहरुलाई इजाजत दिएको छ । यसभन्दा अघि यस्तो इजाजत दिने व्यवस्था थिएन ।


भिरकोट नगरपालिकाले ५५ जना स्वास्थय स्वयमसेविकाहरुलाई तालिम दिएर परिचालन गरेको छ । नगरप्रमुख छायाँराम खनालका अनुसार महीला स्वास्थ्य स्वयमसेवीकाहरु सवैलाई एन्ड्रोयड मोवाइल दिइएको छ । उनीहरुले भिडियोकल मार्फत नगरपालिकाले तोकेको फोकल स्वास्थ्यकर्मीसंग सम्पर्क गर्दछन् । र, स्वास्थ्यकर्मीले दिने सल्लाहका आधारमा गाउँमा सेवा दिन्छन् ।
यी दुई पालिकाले मात्र होइन यस्तो सेवा देशका अन्य भागमा पनि सञ्चालन भएको छ ।
पाल्पाको पूर्वखोला गाउँपालिका रिङ्गेरा हेल्थपोष्ट अनमी रञ्जिता शर्मा आचार्य महीला स्वास्थ्य स्वमसेविकाहरु मार्फत महीलाहरुले गर्भपतन गर्नुपर्ने केशहरु आउने गरेको बताउँछिन् । उनले गत जेठमा एक, साउनमा दुई र भदौमा दुई जना महीलाको गर्भपत गराईन् । “जेठमा घरमै पुगेर सेवा दिएँ, साउन र भदौमा महीला स्वास्थ्य स्वयम सेविका मार्फत आउनुभयो,” रञ्जिता भन्छिन् “गर्भपतन सेवाका बारेमा केही महीलाहरुले आफै टेलिफोन मार्फत पनि जानकारी लिनुहुन्छ ।”
गाउँघरमा एक अर्कामा चिनजानका धेरै हुने भएकाले महीलाहरुले गोपनियता खोज्ने र त्यसलाई कायम गर्न गारो हुने अनुभव उनको छ ।

घरदैलोमा पुगेर गर्भपतनको सेवा दिने अर्की स्वास्थ्यकर्मी हुन्, इलाम नगरपालिका वार्ड नम्वर १ साखेजुङ्ग स्वास्थ्य चौकीकी अनमी देवीका भट्टराई । ३१ साउनमा देवीकाको नम्वरमा एउटा फोन आयो । फोन गर्ने महीलाले अनिच्छित गर्भ बसेकाले गर्भपतन गर्नुपर्ने समस्या राखिन् । हेल्थपोष्टमा आउन सवारी साधनको सहज व्यवस्था थिएन । हिंडेर आएपनि फर्कदा समस्या । त्यसपछि अनमी भट्टराई उनलाई गाउँमै पुगेर सेवा दिइन् ।

त्यसैगरी इलाम नगरपालिका १ की एक अर्की २० बर्षीय अविवाहित युवती । उनी गोपनियताका कारण इलाम बजार वा झापा पुगेर गर्भपतन गराउन चाहन्थिन् । तर, कोभिडको महामारीका कारण जान नसकेपछि उनले समस्या अनमी देवीकासंग राखिन् । ती युवतीको समस्या पनि समाधान भयो । “पहिला महीलाहरुले फोनबाट समस्या राख्नुहुन्छ, सकेसम्म हामी स्वास्थ्य चौकीमै बोलाउँछौं, तर आउन सम्भव नभए गाउँ घरमै पुगेर भएपनि सेवा दिन्छौं,” देवीका भन्छिन् ।
सरकारले कोभिड १९ का कारण सुरक्षित गर्भपतन सेवालाई सहज बनाउका लागि निर्देशिका मार्फत बाटो खोलेपनि अहिलेपनि यस बारेमा धेरै महीला अनविज्ञ रहेको पाइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रोल्पा, पाल्पा, अछाम, तेह्रथुम, डोटी र डडेलधुरा लगायतका जिल्लामा सेवा प्रदायकबाट सेवा दिने काम सुरु भएको छ ।

यसकारण निर्देशिका
कोभिड १९ का कारण अन्य स्वास्थ्य सेवा प्रभावित हुने भएपछि सरकारले निर्देशिका मार्फत अन्य स्वास्थ्य सेवालाई सहज गराउने प्रयास सुरु गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा. भिमसिंह तिंकरीका अनुसार सवैको ध्यान कोभिड १९ मा केन्द्रीत हुँदा सुरक्षित मातृत्व, परिवार नियोजन, प्रजनन् स्वास्थ्य, खोप तथा गर्भपतनसंग सम्वन्धित सेवाहरु प्रभावित भएपछि ती सेवा सुचारु गर्न अन्तरिम निर्देशिका बनाएर काम सुरु गरिएको हो ।
उक्त निर्देशका बमोजिम काम सुरु गरिएपछि दादुरा तथा रुवेला विरुद्धको खोप, भिटामिन ए को क्याप्सुल, खुवाउने कार्यक्रम सम्पन्न भइसकेका छन् । त्यसैगरी सुत्केरी तथा गर्भपतन सेवाहरु पनि अहिले पहिलाभन्दा सहज किसिमले हुन थालेका छन् ।
“सवैले कोभिड कोभिड भनेर अरु स्वास्थ्य सेवालाई त रोक्नु भएन नि । कोभिड त एउटा कम्पोनेन्ट मात्र हो,” तिंकरी भन्छन् “सत प्रतिशत काम नभएपनि केही नहुन भन्दा त धेरै काम भएको छ ।”उनका अनुसार बन्दाबन्दी सुरुभएपछिको डेढ महीनाको अवधिमा समयमा सेवा नपाउँदा ४५ जना सुत्केरीको मृत्यु भएको थियो । समयमा अस्पताल आउन नसक्ने र अन्य विभिन्न कारणले अत्यावश्यक सेवा नै प्रभावित भएर सुत्केरी अवस्थाका महीलाको मृत्यु भएपछि सरकार गम्भीर भएको हो । स्वास्थ्य मन्त्रालयका साझेदार संस्थाहरुसंगको सहकार्यमा निर्देशिका बनाएर सेवा सुचारु गरिएको उनी बताउँछन् ।
कोभिड १९ को नियन्त्रणका लागि भएको बन्दाबन्दीले प्रजनन् तथा परिवार नियोजनमा परेको असरका विषयमा मन्त्रालयका तर्फबाट अध्ययन भइरहेको उनले बताए । “कोभिड १९ का कारण प्रजनन् स्वास्थ्य, बाल तथा मातृ मृत्यु र परिवार नियोजनमा कति असर पुग्यो भन्ने विषयमा अध्ययन भइरहेको छ, सवै रिपोर्ट प्राप्त पछि यथार्थता बाहिर आउँछ,” तिंकरीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७