विद्यार्थीबाट थप एक लाख असुल्दै नेसनल मेडिकल कलेज

थप रकम नदिए परीक्षाबाट वञ्चित गराउने विद्यार्थीलाई धम्की


प्रकाशित मिति : November 2, 2020

काठमाडौं, १७ कार्तिक । वीरगन्जस्थित नेसनल मेडिकल कलेजले चिकित्सा शिक्षाअन्तर्गत स्नातकोत्तर (पिजी) अध्ययन गरिरहेका विद्यार्थीबाट गैरकानुनी रूपमा एक लाख रुपैयाँ उठाउन सुरु गरेको छ ।

स्नातकोत्तर परीक्षाको मौका पारेर कलेजले विद्यार्थीबाट रकम असुली गर्न सुरु गरेको विद्यार्थीले जनाएका छन् । एक लाख रुपैयाँ नतिर्ने विद्यार्थीलाई परीक्षामा बस्न नदिने धम्की दिएको विद्यार्थीले बताएका छन् । ‘परीक्षा दिन मन छ भने यो शुल्क तिर्नुहोस्, नभए परीक्षा दिन पाइँदैन भनेको छ,’ प्रशासनको भनाइ उद्धृत गर्दै एक विद्यार्थीले भने ।

नेसनल कलेजमा अहिले स्नातकोत्तर तह (एमडी, एमएस र एमडिएस) दोस्रो वर्षमा २४ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये १० जनाको ७ मंसिरदेखि परीक्षा सुरु हुँदैछ । परीक्षाका लागि भन्दै कलेजले विद्यार्थीबाट सरकारले तोकेकोभन्दा एक लाख बढी शुल्क उठाउन खोजेको हो । कलेजले २० कात्तिकभित्र परीक्षा फारम भर्ने समय तोकेको छ ।

परीक्षाको समयमा सरकारले तोकेकोभन्दा एक लाख रुपैयाँ बढी शुल्क मागेर आफूहरूमाथि दबाब सिर्जना गरेको विद्यार्थीले बताएका छन् । ‘त्रिविको नियमअनुसार २२ लाख तिर्नुपर्छ । हामीले भर्ना हुँदा पनि त्यही निमयअनुसार सहमति गरेका हौँ, तर अहिले आएर थप एक लाख रुपैयाँ मागेको छ,’ अर्का विद्यार्थीले भने ।

कलेजले परीक्षाका लागि तिर्नुपर्ने वार्षिक शुल्क भन्दै थप रकम मागेको विद्यार्थीले बताएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेजमा चिकित्साशास्त्रअन्तर्गत स्नातकोत्तर अध्ययन गर्दा २२ लाख रुपैयाँ तिर्नुपर्छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को १७ वैशाखमा प्रकाशित सूचनाअनुसार तीनवर्षे स्नातकोत्तर तह अध्ययनका लागि २२ लाख रुपैयाँ शुल्क तिर्नुपर्छ । जसमध्ये पहिलो किस्तामा ११ लाख, दोस्रो र तेस्रो किस्तामा पाँच लाख ५० हजारका दरले बुझाउनुपर्ने आइओएमको नियम छ । आइओएमले तोकेको शुल्कमा भर्ना शुल्क, शिक्षण शुल्क, प्रयोगशाला, पुस्तकालय तथा सामुदायिक तालिमलगायत सबै शुल्क समावेश गरिएको छ ।

तोकिएभन्दा बढी शुल्क तिर्नुपर्ने भएपछि विद्यार्थीले परीक्षामा सहभागी हुने वातावरण मिलाई दिन आग्रह गर्दै चिकित्सा शिक्षा आयोग, आइओएम, मेडिकल काउन्सिल र त्रिवि उपकुलपतिको कार्यालयमा निवेदन दिएका छन् ।

‘नियामक निकायलाई गैरकानुनी रूपमा शुल्क उठाएको जानकारी गराउँदै परीक्षामा सहभागी हुने वातावरण मिलाइदिनुहोस् भनेर निवेदन दिएका छौँ,’ एक विद्यार्थीले भने, ‘यसरी त हामीले तीन वर्षमा सरकारले तोकेभन्दा तीन लाख थप शुल्क तिर्नुपर्छ ।’

चिकित्सा शिक्षा आयोगका सदस्य सचिव दिल्लीराम लुइँटेलले नेसनल मेडिकल कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क माग्नु गैरकानुनी भएको बताए । ‘कसैले पनि तोकेभन्दा बढी शुल्क माग्न पाउँदैन । अगाडि पनि यस्तै गर्दा कारबाही गरेका थियौँ, यसपटक पनि त्यही गल्ती दोहोर्‍याएछन्,’ सदस्य सचिव लुइँटेलले भने ।

बिहीबार बस्ने आयोगको बैठकले विद्यार्थीबाट उठाइएको थप शुल्क फिर्ता गराउने वा समायोजन गराउने भन्ने विषयमा निर्णय गर्ने लुइँटेलले बताए । उनले भने, ‘तोकिएभन्दा बढी शुल्क लिएको रहेछ भने फिर्ता गराउने वा समायोजन गराइन्छ । र, त्यसरी बढी शुल्क लिने कलेजलाई कारबाही पनि गछौंँ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्