धुलिखेलदेखि शिक्षण, पाटन र टेकुसम्म : अब निःशुल्क उपचार हुने चौतर्फी ढोका बन्द


१७ कार्तिक २०७७, सोमबार
Covid.jpg .2020 11 02

काठमाडौं, १७ कार्तिक । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितलाई भर्ना गर्नुअघि २० देखि ७५ हजारसम्म धरौटी जम्मा गर्नुपर्छ ।

अस्पतालका अनुसार सामान्य आइसोलेसन खर्च दैनिक तीन हजार पाँच सय, लक्षणसहितका संक्रमितको आइसोलेसन खर्च सात हजार पाँच सय र आइसियूमा बस्नुपर्ने संक्रमितको खर्च दैनिक १५ हजार तोकिएको छ ।

शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार संक्रमितले भर्ना हुनुअघि १० देखि ४५ हजारसम्म धरौटी जम्मा गर्नुपर्छ । अस्पताल आफैँले गरिब पहिचान खुल्ने फारम तयार पारेकाले कसैले उपचार गर्दागर्दै खर्च सकियो वा उपचार गर्न नसक्ने अवस्था आएमा फारम भराएर निःशुल्क उपचार पनि भइरहेको उनले बताए ।

धुलिखेल अस्पतालले २ कात्तिकदेखि लागू हुने गरी ५० हजारदेखि दुई लाख रुपैयाँसम्म धरौटी जम्मा गर्नुपर्ने सूचना जारी गरेको थियो । तर, त्यो सूचना बिरामीको हितमा नभएको भन्दै धरौटी राख्नुपर्ने व्यवस्था खारेज गरिएको डिन डा. राजेन्द्र कोजूले बताए ।

वीर अस्पतालमा भने कोरोना संक्रमितसँग छुट्टै धरौटी रकम लिने गरिएको छैन । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार वर्षौँदेखि आइसियूमा राख्ने बिरामीसँग १० हजार र पेइङ बेडमा बस्ने बिरामीबाट एक हजार धरौटी लिइँदै आएको छ, जुन अहिले पनि जारी छ ।

सिभिल सर्भिस अस्पतालले पनि संक्रमितको उपचार गर्दा अग्रिम धरौटी नलिने गरेको जनाएको छ । निजामती कर्मचारी अस्पताल संघका अध्यक्ष सन्तोष धिमालका अनुसार कोभिडभन्दा अघिदेखि नै अस्पतालले एकदेखि दुई हजार रुपैयाँ धरौटी लिने गरेको थियो, त्यो अहिले पनि जारी छ ।

‘कोभिडका लागि भनेर अस्पतालले सूचना जारी गरी धरौटी लिएको छैन,’ उनले भने । केही समयअघि क्यान्टिनमा खाना खानुपूर्व पैसा जम्मा गनुपर्ने नियम कोरोनाका बिरामीको नभएर कुरुवाहरूको भएको र त्यो समेत अहिले रोकिएको धिमालले बताए ।

सरकारले कोरोना संक्रमितको दैनिक उपचार खर्च तीन हजार पाँच सयदेखि १५ हजारसम्म लिन पाउने व्यवस्था गरेको छ । तर, निजी अस्पतालहरूले भने सरकारी निर्णय कार्यान्वयन गरेका छैनन्, मनलाग्दी बिल बनाउने गरेका छन् ।

निजी अस्पतालमा मनलाग्दी धरौटी

निजी अस्पतालहरूले ५० हजारदेखि दुई लाखसम्म धरौटी लिएर मात्रै बिरामी भर्ना गरिरहेका छन् । सरकारी अस्पतालमा शैंया नपाउने र निजीमा मोटो रकम धरौटी राख्नुपर्दा बिरामी चरम शोषणमा परेका छन् ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुनुअघि सामान्य संक्रमितले ५० हजार र आइसियूमा बस्नुपर्ने संक्रमितले दुई लाख धरौटी जम्मा गर्नुपर्छ । धरौटी जम्मा गर्न नसक्ने बिरामीले भर्ना पाउँदैनन् । अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले धरौटी लिने गरे पनि रकमबारे यकिन भन्न नसक्ने बताए ।

नर्भिक अस्पतालले भर्ना गर्नुअघि दुई लाख धरौटी लिने गरेको छ । ‘अरू रोगका सामान्य बिरामीले धरौटी राख्नुपर्दैन, तर कोभिडको उपचारका लागि कम्तीमा दुई लाख धरौटी लिने गरेका छौँ,’ अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले भने । ह्याम्स अस्पतालले पनि धरौटी लिएर मात्रै संक्रमित भर्ना गर्ने गरेको छ । बिरामीको अवस्था हेरेर ५० हजारदेखि एक लाखसम्म धरौटी जम्मा गर्नुपर्ने अस्पतालले जनाएको छ ।

नेपाल मेडिसिटी अस्पतालले कोरोना संक्रमितसँग छुट्टै धरौटी रकम माग्ने गरेको छैन । तर, अरू बिरामीझैं उनीहरूले पनि एक लाखसम्म धरौटी रकम जम्मा गर्नुपर्छ । तत्काल पैसा नहुनेलाई ४८ घन्टाभित्र रकम जम्मा गर्ने गरी भर्ना गरिने गरिएको अस्पतालका आइसियू संयोजक डा. दिप्तेश अर्यालले बताए ।

सरकारले कोरोना आइसियू बेडका लागि १५ हजार मात्रै लिन पाउने व्यवस्था व्यावहारिक नभएको डा. अर्यालको भनाइ छ । ‘के आधारमा यस्तो निर्णय गरिएको हो थाहा छैन, त्यो रकममा सरकारी अस्पतालले समेत सेवा दिन सक्दैनन्,’ उनले भने, ‘मेडिसिटी अस्पतालमा सामान्य अवस्थामा आइसियूमा भर्ना हुँदा दैनिक ७० हजार खर्च हुन्छ, बिरामी अलि गम्भीर हुँदा ८० हजारसम्म लाग्छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७