माफ गर्नुहोस् प्रिय टेण्डी दाइ


नाम्गेल शेर्पा
प्रकाशित मिति : November 2, 2020

कुनै समय यस्तो थियो, कि विद्यार्थी संगठनहरु परिवर्तनका संवाहक थिए । विद्यार्थी आन्दोलन परिवर्तनको बाटो र उज्यालो दुबै थियो । अझ उबेलाका कम्युनिष्ट पार्टीका विद्यार्थी संगठन त नेता जन्माउने कारखाना थियो । यो स्वर्णिम आन्दोलनको सबैभन्दा स्वर्णकाल थियो, शंकर पोखरेल, घनश्याम भुसाल, योगेश भट्टराई, राजेन्द्र राई, रविन्द्र अधिकारी, ठाकुर गैरे, लेखनाथ न्यौपानेहरुको नेतृत्वकाल । त्यो समय विद्यार्थी आन्दोलनको यस्तो स्वर्ण समय थियो कि माउ पार्टी पछि–पछि विद्यार्थी आन्दोलन अघि अघि थियो । परिवर्तन र रुपान्तरणको मुलबाटो जस्तै थियो विद्यार्थी आन्दोलन । यीमध्ये पनि योगेश भट्टराई, राजेन्द्र राई, रविन्द्र अधिकारी, ठाकुर गैरेहरुले नेतृत्व गरेको समय विद्यार्थी आन्दोलन अझ स्वर्ण समय थियो । हो, त्यही समयका एक जना जोदाहा विद्यार्थी नेता हुनुहुन्थ्यो, कमरेड टेण्डी शेर्पा ।

सीमा दुःखीरहेको राष्ट्रियताको आन्दोलन विद्यार्थी आन्दोलनकै तागतमा काठमाडौंको केन्द्र भागमा आइपुगेको थियो । उ समयको दरबार आतंकविरुद्ध विद्यार्थी आन्दोलन पहाड जस्तै उभिएको थियो । अनेकन शैक्षिक मुद्दाहरु पनि उसैगरी उठाइएको थियो । उबेलाका उज्याला नामहरु थिए, योगेश भट्टराई, राजेन्द्र राई, रविन्द्र अधिकारी, ठाकुर गैरे । त्यही बेलाका एकजना ‘फिल्ड कमाण्डर’ हुनुहुथ्यो, टेण्डी दाइ । हो, त्यही ताका आगो जस्तै नाम थियो, टेण्डी शेर्पा ।

खासगरी काठमाडौं उपत्यकाका अनेकन आन्दोलन र अभियानमा उहाँको उपस्थिति र सहभागिता अग्रमोर्चामा हुन्थ्यो । तत्कालीन अखिलहरुको आन्तरिक संघर्ष होस् या नेविसंघसँगको लडाई अथवा सत्तासँगको लडाई यी सबैमा फिल्ड कमाण्डरको भूमिकामा उभिनु भयो । बिपक्षीसँगको लडाईमा पहाड जस्तै उभिनु हुन्थ्यो टेण्डी दाइ । विपक्षीहरुका लागि उहाँको नाम आफैमा चुनौती र त्रासको बिषय थियो । काठमाडौंका कलेजहरुमा अखिलका विद्यार्थीहरुका लागि उहाँको नाम आड भरोषाको नाम थियो । कहीं कसैले आक्रमण गर्दा धेरै विद्यार्थीहरुले सम्झिने नाम थियो, टेण्डी दाइ ।चुनावी परिणामको हिसाबले नेपाल कम्युनिष्ट पार्टी आज असाध्यै स्वर्णिम अवस्थामा छ । यति भनौं, आजको यो अवस्था निर्माणका निम्ति धेरैले आफ्नो उर्बर र सुन्दर समय खर्चिएका थिए ।

टेण्डी शेर्पाको अवस्था बारेमा जानकारी लिदै पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल

हो, तिनैमध्येका एक हुनुहुन्छ, टेण्डी दाइ । आफ्नो जीन्दगीको सबै उर्बर समय पार्टीका निम्ति खर्चिनु भएको थियो । हिजोका ती दिनहरुमा सँगै लडेका टेण्डी दाइका धेरै प्रिय कमरेडहरु आज सत्ताको मुल प्रवाहमा हुनुहुन्छ । संघीय सरकारदेखि, प्रदेश सरकार र स्थानीय सरकारसम्मका मुल प्रवाहमा बिराजमान छन् । तर हिजोको त्यो जोदाहा टेण्डी शेर्पा अहिले किनारा भन्दा पनि धेरै टाढा हुनुुहुन्छ । निकै नै टाढा । गुमनाम मात्रै होइन वेवास्ताको शिकार बन्नु भएको छ । ‘इएलेस डिजिज’ नामक दुर्लभ रोगका कारण नराम्ररी थलिनु भएका टेण्डी शेर्पा अहिले काठमाडौंको विशाल नगरस्थित एक ‘केयर सेन्टर’ मा मृत्युसँग लडिरहनु भएको छ ।

टेण्डी दाइ उठ्न पो सक्नुहुन्न । तर टेण्डी दाइ होशमा हुनुहुन्छ । हिजोका ती लडाईका सम्झनाहरु उहाँको दिमागमा रिल जस्तै फनफनी घुमिरहेका छन् । सँगै लडेका दिनहरुका सम्झनाहरु आइरहेका छन् । अनिदा रातहरुको सम्झना पनि उसैगरी आइरहेको छ । उहाँलाई यस्तो लाग्छ, ‘हिजोका ती साथीहरुलाई भेट्न पाए हुन्थ्यो, छुन पाए हुन्थ्यो, हेर्न पाए हुन्थ्यो ।’ रोगका कारण साथीहरुको समिपमा जान सम्भव छैन । केही भन्न वा सुनाउन सम्भव छैन । टेण्डी दाइ नसकेपनि साथीहरु उहाँलाई भेट्न जान त सम्भव छ । तर, हिजोका साथीहरु यसो बिरामी साथीलाई भेट्न जाने कष्ट गर्न तयार छैनन् । सायद, उहाँका साथीहरुलाई लाग्दो हो, ‘अब टेण्डी शेर्पा हिजो जसरी आगो बन्न सम्भव छैन, अनि किन भेट्न कष्ट गर्ने ?’ बलेको आगो ताप्ने समाजका मान्छेहरुका लागि सायद अब टेण्डी दाइ निभ्दै गरेको आगो हो । प्रिय टेण्डी दाइ, ‘मात्रै बलेको आगो ताप्नेहरुलाई माफ गरी दिनुहोस् ।’

अखिलमा रहँदा टेण्डी दाइ अमृत साइन्स कलेजको दुई कार्यकाल सभापति निर्वाचित हुनुभयो । अखिलपछि नेपाली खेलकुदमा उहाँको भूमिका उसैगरी बलशाली रह्यो । १३ वर्षदेखि नेपाल बास्कटेबल संघको अध्यक्ष हुनुहुन्छ । अस्पतालको बेडमा जान अघि उहाँ नेपाल ओलम्पिक कमिटी (एनओसी) को महासचिव, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष हुनुहुन्थ्यो । इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा नेपालले कति खेलमा भाग लिने भन्ने निर्णय गर्नका लागि उहाँकै संयोजकत्वमा समिति बनेको थियो । उहाँका यस्ता योगदान र सहभागिता अनेकौ छन् ।

तत्कालीन नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको महासचिवको जिम्मेवारीमा रहँदा होस् अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को महासचिवको जिम्मेवारी । यी सबै जिम्मेवारी बढो कुशलतापूर्वक चलाएको इतिहास छ । तर आज मृत्युसँग जुधिरहेका बेला उहाँको त्यो योगदान भुलिए जस्तै लाग्छ । वेवास्ताको शिकार हुनु भएको छ । त्यो इतिहास धुमिल भए जस्तै लाग्छ । मृत्युसँग लडिरहेका टेण्डी शेर्पाका लागि अरु केही गर्न नसके पनि गएर बेडको नजिक गएर सान्तवना दिन सकिन्न र ?

प्रतिक्रिया दिनुहोस्