विजय राम मृत्यु प्रकरण : रौतहटका प्रजिअलाई ज्ञापनपत्र, न्याय नपाए सशक्त आन्दोलन


१७ कार्तिक २०७७, सोमबार
123701035 664589254242024 6595870052879253774 n

रौतहट, १७ कर्तिक । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा मृत्यु भएका १९ वर्षीय विजय रामको घटनाका सम्बन्धमा हालसम्म पनि कारवाही नभएको भन्दै रौतहटका दलित समुदाय आन्दोलित भएका छन् ।

साउन ३१ गते रौतहटको गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या गरेको अभियोगमा पक्राउ परेका विजय राम महराको उपचारका क्रममा मृत्यु भएको थियो । हिरासतमा भएका व्यक्तिको मृत्यु भएपछि परिवारजन तथा स्थानीयले केही दिनसम्म प्रहरीविरुद्ध प्रदर्शन गरेका थिए ।

सोमबार सयौंको संख्यामा दलित समुदायले रौतहट सदरमुकाममा जुलुस प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । दलित युवाको हत्या गरेको अभियोग पत्र दर्ता भएको रौतहटका तत्कालीन एसपी रविराज खडका, डिएसपी ज्ञानकुमार महतोलगायतलाई कारवाही गर्नुपर्ने उनीहरूको माग छ । साथै निरञ्जन राम र विजय रामलाई शहीद घोषणा गर्न माग गरेका छन् । माग पूरा नभए सशक्त आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

दलित मारिएको घटनाका बारेमा गृह मन्त्रालयका उपसचिवको संजोजकत्वमा छानबिन समिति गठन भए पनि सो छानबिन समितिको प्रतिवेदन अनुसार तत्कालीन प्रहरी प्रमुखहरुलाई कारवाही नभएको भन्दै दलितहरुले गौरमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीले हिरासतमा यातना दिएको भेटेपछि जिल्ला प्रहरी प्रमुख एसपी खडकाको जिम्मेवारी खोसिएर उनको स्थानमा सिद्धिविक्रम शाहलाई पठाएको थियो भने प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकरण सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालेको थियो । यसै गरी प्रदेश नं. २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ ।

मुद्दा दर्ता भइसक्दा पनि यातना दिने प्रहरीहरुलाई कारवाही निलम्बन बाहेक अरु कुनै कारवाही हुन नसकेकोप्रति दलित अगुवाहरुले आक्रोश पोखेका छन् । ‘दलितको विषयमा राज्यले जहिले पनि अवहेलना मात्रै गरेको छ’, दलित अगुवा धर्मेन्द्र पासवानले भने, ‘हिरासतमा यातना दिएर मान्छे मार्ने तत्कालीन प्रहरी प्रमुखहरुलाई थुनामा राखेर छानबिन गर्नुपर्छ ।’

निरञ्जन, विजय राम हत्याकाण्डको सम्बन्धमा छानबिन, दोषी प्रहरीहरुलाई कारवाही तथा मृतक परिवारलाई क्षतिपूर्ति दिइनु पर्ने पीडित परिवारको माग छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७