कांग्रेस बैठक : क्रियाशील सदस्यता वितरण, विभाग गठन र पार्टी समायोजनका मुद्दामा विवाद


१८ कार्तिक २०७७, मंगलवार
congress

काठमाडौं, १८ कार्तिक । सत्तारुढ दल नेकपा झण्डै झण्डै विभाजनतर्फ उन्मुख भएकै बेला विपक्षी कांग्रेस बैठकमा पनि ठूलै विवाद सिर्जना भएको छ । सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा भिन्दाभिन्दै समूहका नेताहरूबीच आरोप–प्रत्यारोप भएको छ ।

पार्टीभित्रको विवाद सुल्झाउन एक महिनादेखिको संवादहीनतालाई तोड्दै बैठक बसे पनि विना निष्कर्ष टुंगिएको छ । बैठकमा संस्थापन पक्षले अहिलेसम्म भएका निर्णयको बचाउ गरेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद समाधान गरेर मात्रै अघि बढ्न सकिने अडान दोहोर्‍याएको छ । नेता कृष्ण सिटौलाले भने पक्ष–विपक्ष नलिई सानो समूह बनाएर विवादका विषयमाथि छलफल गरेर टुंग्याउन सुझाब दिएका छन् ।

पौडेल पक्षले केन्द्रीय समिति बैठकअगावै क्रियाशील सदस्यता वितरण, विभाग गठन र पार्टी समायोजनलगायत विधानविपरीत भएका निर्णय उल्ट्याउनुपर्ने अडान राख्दै आएको छ । तर, सोमबारको बैठकको सुरुमै उपसभापति तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले पार्टी समायोजन र क्रियाशील सदस्यता वितरण विधानबमोजिम नै भइरहेको भन्दै पौडेल पक्षले राखेका मागप्रति स्पष्टीकरण दिएका थिए ।

समायोजन समिति सदस्यसमेत रहेका केन्द्रीय सदस्य महेश आचार्यले विधानबमोजिम समायोजनका क्रममा अन्य पार्टीबाट आएकालाई क्रियाशील सदस्यता वितरण गर्दा तल्ला समितिबाट निर्णय गरेर आउनु पर्नेमा त्यस्तो नभएको बताएका थिए । समायोजन समितिले सदस्यताका सम्बन्धमा गरेको निर्णय केन्द्रीय समितिबाट अनुमोदन गर्ने भनिए पनि केन्द्रीय समितिबाट अनुमोदन समेत नभएको भन्दै उनले विरोध गरेका थिए ।

बैठकमा वरिष्ठ नेता पौडेलले १६बुँदे ज्ञापनपत्रमाथि विस्तृतमा छलफल नभएसम्म अरू विषयमा छलफल नहुने दोहोर्‍याए । ‘छलफल सुरु भएको छ, तर सन्तोषजनक जवाफ आएको छैन, उहाँ (देउवा) ले मिलाउँछु भन्नु भएको छ, भोलि (मंगलबार) थप छलफल हुन्छ, तर १६ बुँंदेमाथि चित्तबुझ्दो जवाफ नआएसम्म अरू विषय प्रवेश हुँदैन,’ बैठकपछि नेता पौडेलले भने ।

बैठकमा विभाग गठन, पार्टी समायोजन र क्रियाशील सदस्यताका विषयमा नेताहरूले बोल्दै गर्दा सभापति देउवाले बीच–बीचमै कुरा काटेर जवाफ दिन थालेपछि नेताहरूबीच चर्काचर्की भएको थियो । नेता सिटौलाले भने देश संकटमा उल्झिरहेका वेला पार्टीभित्रका विवादमा अल्झिएर बस्नु ठीक नभएको बताएका थिए । उनले फागुनमा महाधिवेशन गर्न सम्भव नभएको भन्दै महाधिवेशन जेठसम्म सार्ने गरी नयाँ कार्यतालिका बनाएर काम गर्नुपर्ने धारणा राखे ।

उनले पक्ष–विपक्ष नलिई पार्टीभित्रका विवाद सुल्झाउन ठूलो भेलाबाट नभई सानो टिमबाट सहमति खोज्न सुझाब दिएका छन् । महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान राष्ट्रिय समसामयिक एजेन्डा र पार्टीका धारणाबारे विवरण प्रस्तुत गरेका थिए ।

नेता अर्जुननरसिंह केसीले भने विधानविपरीत भएका गतिविधिमा संस्थापन पक्ष कुनै पनि हालतबाट सम्बोधन गर्न तयार नरहेको पाइएको बताए । सहमहामन्त्री प्रकाशशरण महतले भने बैठक सकारात्मक भएको बताए ।

‘विभिन्न राष्ट्रिय मुद्दाहरूमा छलफल भयो, अहिलेको यस्तो संकटका वेला सरकार जनताप्रति संवेदनशील भएन, त्यसको विरोध गर्दै ती मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउनुपर्छ भन्ने कुरा उठेको छ,’ उनले भने । केन्द्रीय सदस्य गगन थापाले भने बैठक हुनुलाई नै सकारात्मक भनेका छन् । ‘केन्द्रीय समितिमा यी सबै विवादमाथि छलफल गर्न सम्भव हुँदैन, त्यसैले अहिल्यै समाधान हुनैपर्छ, सम्भवतः सभापति ज्यूले पनि त्यो कुरा चाहनु भएको छ,’ उनले भने ।

पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर एकलौटी कार्य गरेको भन्दै पौडेल पक्षका २७ केन्द्रीय सदस्यले ११ असोजमा केन्द्रीय कार्यालयमा १६बुँदे ज्ञापनपत्र दर्ता गराएका थिए । यसअघि १९ असोजमा केन्द्रीय समिति बैठक बोलाइएको थियो । पौडेल पक्षले केन्द्रीय समिति बैठकअगावै आफ्ना माग सम्बोधन हुनुपर्ने माग राखेपछि १६ असोजमा सभापति देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको अनौपचारिक बैठक राखे पनि निष्कर्षमा पुगेको थिएन ।

केन्द्रीय नेताहरूलाई नै कोरोना संक्रमण पुष्टि भएपछि २५ असोजसम्मलाई बैठक स्थगित भएको थियो । पूर्वकोषाध्यक्षको निधनले २५ असोजको बैठकसमेत नबसेपछि अर्को बैठक आगामी शुक्रबारका लागि बोलाइएको छ । सभापति देउवाले केन्द्रीय समिति बैठकअगावै पार्टीभित्रका विवादमाथि सहमति खोज्न सोमबार अनौपचारिक बैठक बोलाएका थिए ।

सभापति देउवाले चारवर्षे कार्यकाल पूरा गरेपछि थप भएको समयमा एकलौटी केन्द्रीय विभाग गठन गरेको, समायोजनका क्रममा विधान मिचेर क्रियाशील सदस्यता दिएकोलगायत विषयलाई लिएर कांग्रेसभित्र विवाद चर्किंदै आएको छ । महाधिवेशन स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा हुने अवस्था नरहेको पौडेल पक्षको आरोप छ । कांग्रेसले आगामी ७–१० फागुनमा १४औँ महाधिवेशन गर्ने मिति घोषणा गरी कार्यतालिका सार्वजनिक गरे पनि त्यही रफ्तारमा पूर्व तयारी भने गर्न सकेको छैन ।

देउवाको बोल्ने पालो आएन !
सभापति शेरबहादुर देउवा भने सोमबारको बैठकमा बोलेनन् । अन्य नेताहरू बोलिरहेका वेला उनले बीच–बीचमा विवादलाई मिलाएर अघि बढ्नुपर्ने बताएका थिए । तर, बैठकमा उठेका मुद्दामा भने उनले औपचारिक धारणा राखेका थिएनन् ।

‘सभापति ज्यूको बोल्ने पालो आएन, अन्य नेताले पनि बोल्ने इच्छा देखाएपछि बैठक मंगलबार १ बजे सुरु हुनेछ,’ बैठकमा सहभागी एक नेताले भने, ‘विभाग गठनबाहेक अन्य विषयमा छलफल गर्न उहाँ (देउवा) सकारात्मक देखिनु भएको छ ।’ विवादबारे छलफल गर्न मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः पदाधिकारी बैठक बस्दै छ । अन्तिममा बोल्ने भनेकाले सभापतिले मंगलबार उठेको प्रश्नको जवाफ दिनेछन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७