कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी


१८ कार्तिक २०७७, मंगलवार
vb

काठमाडौं, १८ कार्तिक । वैदेशिक रोजगार बोर्डले भुक्तानी सेवा प्रदायक संस्थामार्फत वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ ।

सेवाग्राहीले सजिलै सेवा लिन सकुन् भन्ने र बोर्डको सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमित प्राप्त इसेवा फोन पे प्रालि र स्प्यारो पे प्रालिमार्फत सरल र सहजरुपमा कोषको रकम भुक्तानी गर्न सकिने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा जाने कामदारले करार अवधि तीन वर्षको भएमा रु एक हजार ५०० र तीन वर्षभन्दा बढी भएमा रु दुई हजार ५०० कोषमा जम्मा गर्नुपर्छ ।

बोर्डले सोही कोषमा जम्मा भएको रकमबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग, बिरामी भएमा राहत रकम उपलब्ध गराउँदै आएको छ । त्यस्तै मृतक कामदारको सन्नतिको शैक्षिक भविश्यलाई उज्वल बनाउन शैक्षिक छात्रवृत्तिसमेत प्रदान गरिँदै आइएको छ ।

भुक्तानी सेवा प्रदायकबाट सेवा लिए बापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्नु नपर्ने बोर्डले प्रष्ट पारेको छ । पछिल्ला समय आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै लगेको बोर्डले वैदेशिक रोजगारमा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिका परिवारलाई राहतका लागि स्थानीय तहबाटै निवेदन दिने र सम्बन्धितको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाएको छ ।

   

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७