कोरोना संक्रमितको शव चार महिनापछि उत्खनन् गरी दाहसंस्कार


१८ कार्तिक २०७७, मंगलवार
sb

अर्घाखाँची, १८ कार्तिक । कोरोना संक्रमणबाट मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिको शव साढे चार महिनापछि उत्खनन् गरी दाहसंस्कार गरिएको छ ।

अर्घाखाँची मालारानी गाउँपालिका–४ का ५७ वर्षीय यमप्रसाद खनालको शव उत्खनन् गरी दाहसंस्कार गरिएको हो । उनी क्वारेन्टिनमा बसेको बेला स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएको थियो ।

स्वाब पठाएको केही दिनमा स्वास्थ्यमा समस्या आएपछि उनी उपचारका लागि बुटवल गएका थिए । उपचारपछि घर फर्कनेक्रममा गएको जेठ २८ गते बाटोमै खनालको मृत्यु भयो । तर, उनको मृत्यु भइसक्दा पनि ‘पीसीआर’ परीक्षणका लागि पठाइएको स्वाबको नतिजा आएको थिएन । उक्त रिपोर्ट प्रयोगशालाकै लापरबाहीले प्रयोगशालाभित्रै हराएको थियो ।

प्रयोगशालामा पठाएको नमुना हराएपछि पुनः मृत शरीरबाट स्वाब निकालेर पीसीआर परीक्षणका लागि भैरहवा पठाइएको थियो । रिपोर्टमा कोरोना ‘पोजिटिभ’ आएपछि मालारानी–४ स्थित चौरमा शवलाई दुई दिनसम्म खुला आकाशमा राख्न परिवारका सदस्य बाध्य भएका थिए ।
शव व्यवस्थापनमा विवाद भएको थियो । विवादपछि चौर आसपास खाल्टो खनेर शव गाडिएको थियो ।

त्यसबेला परिवारले चाहेको स्थानमा शव व्यवस्थापन र परम्पराअनुसार काजकिरिया गर्न नपाएको आफन्तले बताएका छन् । अहिले चार महिनापछि शव उत्खनन् गरेर परम्पराअनुसार अन्त्येष्टि गरिएको परिवारका सदस्य प्रकाश खनालले जानकारी दिए ।

मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले सरकारको पछिल्लो नीतिअनुसार शव उत्खनन् गर्न गाउँपालिकाले अनुमति दिएको बताएका छन् । उनकाअनुसार चार दिनअघि उत्खनन् गरी शवको दाहसंस्कार गरिएको हो ।

बुबाको शव उत्खनन् गरी अन्त्येष्टि गरिएको बारे स्थानीय प्रशासनले फोनमार्फत चासो राखेको बाबुरामले जानकारी दिए । बाबुरामले भने, ‘स्थानीय प्रशासनबाट फोन आएको थियो । शव उत्खनन् गरी अन्त्येष्टि गर्दा वडासँग समन्वय भयो कि भएन भनेर मात्रै सोध्नु भएको थियो । अरु केही सोध्नु भएन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७