जस्तोसुकै परिस्थितिमा पनि राजीनामा दिन्नँ : प्रधानमन्त्री


१९ कार्तिक २०७७, बुधबार
pmu

काठमाडौं, १९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थिति झेल्न परे पनि पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।

आज (बुधबार) चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई वर्वादीतिर धकेल्न आफूले राजीनामा नदिने बताए । पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भए पनि राजीनामा नदिने स्पष्ट पारेका हुन् ।

उनले भने, ‘तपाईहरु विचार गर्नोस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, देशका लागि । मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्‍याएर भनेको छु । फेरि, केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत दावी गरे । कुनै पनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने दुविधामा नपर्न समेत उनले आग्रह गरेका छन् ।

उनले भने, ‘म यस ठाउँमा आएको मेरा रहरले होइन, जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुर्‍याएको जालझेल, तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईहरु ढुक्क भएर काममा लाग्नोस् । यो सरकार फेरिन्छ कि, बदलिन्छ कि, धेरैले धेरैपल्ट धेरै प्रकारका कोशिसहरु गरे । भित्र, बाहिर अनेकथरीका कोशिसहरु भए । जेमा पनि आलोचना गर्ने, जेमा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृतिहरु छन्, त्यसबाट प्रभावित नहोऔं ।’

प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागिरहेको समेत आरोप लगाए । उनले थपे, ‘एकथरीमा अस्थिरताको खेती गरिरहने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदत छ, एडिक्ट भएका छन् कोही ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७