साधारण बेड र आइसियू समेत खाली, तर शिक्षणका लेखा अधिकृतले आफ्नै अस्पतालमा भर्ना नपाउँदा मृत्यु


२० कार्तिक २०७७, बिहीबार
rajaram.jpg .2020 11 05

काठमाडौं, २० कार्तिक । राजाराम इटनी, लेखा अधिकृत शिक्षण अस्पताल । २५ वर्ष सेवा गरेकोमा उनलाई अस्पतालले सम्मानित गर्नुपर्ने हो । तर, आफैले वर्षौ पसिना बगाएको अस्पतालमा भर्ना नपाएर उनको मृत्यु भएको छ । अर्को विडम्बना ! उनलाई अस्पतालले भर्ना नगरेर फर्काउँदा अस्पतालमा साधारण १२ र भेन्टिलेटरसहितका दुई आइसियू बेड खाली थिए ।

५२ वर्षीय राजाराम दसैं बिदामा धादिङ त्रिपुरासुन्दरीस्थित घर गएका थिए । ‘सानोमा निमोनिया बिग्रिएकोे थियो, सायद त्यही कारणले वेलावेलामा खोक्नु हुन्थ्यो । टीकाको भोलिपल्ट उहाँ मोटरसाइकलमा काठमाडौं फर्किनु भयो । चिसो लागे जस्तो थियो । तैपनि कार्यालय गइरहनु भएको थियो,’ परिवारजनले भने ।

सोमबार राति ११ बजेतिर राजाराम एक्कासी बेहोस भए । २५ वर्ष शिक्षण अस्पतालमा सेवा गरेका राजारामलाई कहाँ लग्ने भन्ने प्रश्नै भएन । ‘आफ्नै अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने विश्वासमा हामीले त्यतै दगुरायौँ । एम्बुलेन्स मगाउँदा ढिलो हुन्छ भनेर ट्याक्सीमा कुदायौं । करिब १२ बजे उहाँलाई शिक्षण अस्पताल पुर्‍यायौँ,’ परिवारजनको भनाइ छ ।

शिक्षण अस्पतालको इमर्जेन्सीमा पुर्‍याउना साथ डाक्टरहरूले आइसियूमा राख्नुपर्ने बताएका थिए । हुन्छ नि त भर्ना गरिहालौं भन्दा जवाफ आयो– आइसियू खाली छैन । लौ न जसरी पनि बचाउनुपर्‍यो, उहाँ यही अस्प्तालको अधिकृत हो भनेर हारगुहार गर्दा पनि बेड छैन भन्ने जवाफ मात्र आइरह्यो ।

अत्तालिएका आफन्तले यत्रतत्र सबै अस्पतालमा फोन गरे । उनीहरूले सीतापाइलाको मनमोहन र शुभेक्षा अस्पताल, बाफलको यती अस्पताल, कलंकीको सहिद मेमोरियल अस्पतालमा सम्पर्क गरे । यी अस्पतालमा आइसियू छैन भन्ने जवाफ आयो । सहिद मेमोरियलले आइसियू छ, तर कोरोना परीक्षणको रिपोर्ट भए मात्रै भर्ना लिने बतायो ।

‘बिरामी बेहोस छ, हामीले पलपल गनिरहेका छौँ । अब कहाँबाट ल्याउनु पिसिआर ?’ परिवारजनले भने, ‘शिक्षण अस्पतालमै बसेर हामीले यता र उता हारगुहार लगायौँ । यही अस्पतालमै केही उपाय लाग्छ कि भनेर बिन्ती पनि गर्‍यौँ । तर, चार घन्टासम्म पनि केही लागेन ।’

अन्तिममा बुढानीलकण्ठ नगरपालिकाको चुन्निखेलस्थित करुणा अस्पतालमा आइसियू खाली छ भन्ने खबर आयो । साढे चार बजे उनलाई करुणा अस्पताल पुर्‍याइयो । ‘आइसियूमा भर्ना गराएपछि केही आशा जागेको थियो । तर, करिब दुई घन्टापछि साढे ६ बजेतिर डाक्टर बाहिर आएर भने, ‘सरी तपाईंहरूले निक्कै ढिला ल्याउनुभयो । उहाँलाई बचाउन सकिएन ।’

करुणा अस्पतालका चिकित्सकहरूका अनुसार शरीरमा अक्सिजनको मात्र कम भएकोले राजाराम बेहोस भएका थिए । अक्सिजन अझै कम भएकोले मुटुको धड्कन पनि बन्द भयो र उनको मृत्यु भयो । शिक्षण अस्पतालमा आइसियूमा राखेर अक्सिजन दिएको भए राजारामलाई बचाउन सकिन्थ्यो भन्ने परिवारजनको विश्वास छ ।

लेखा अधिकृतले नै आफ्नै अस्पतालमा भर्ना पाएनन्, अरू बिरामीको अवस्था के होला ? राजाराजको मृत्यु प्रकरणले यो गम्भीर प्रश्न उठाएको छ । शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले अस्पतालका लेखा अधिकृत इटनीले सोमबार राति बेड नपाएको विषयमा राति कसैले जानकारी नगराएको बताए । ‘उहाँलाई राति अस्पताल ल्याइएको र बेड नपाएको भन्ने हामीलाई जानकारी भएन । अस्पतालमा राम्रो समन्वय भएन, त्यसैले यति ठूलो दुःखद घटना भयो,’ उनले भने ।

शिक्षण अस्पतालका अधिकृतले नै बेड नपाएर मृत्यु भएकोले यो समाचार बाहिर आए पनि देशका विभिन्न अस्पतालमा अहिले यही अवस्था छ । जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहँदा स्वास्थ्य मन्त्रालय भने मूकदर्शक भनेर आलोचना भएपछि स्वास्थ्य मन्त्रालययले अनुगमन समिति गठन गरेको थियो ।

मन्त्रालयको अनुमगन टोलीले शिक्षण अस्पतालमा दुई आइसियू र १२ साधारण बेड खाली भएको रिपोर्ट संकलन गरेकै दिन सोही अस्पतालमा बेड छैन भनेर राजारामलाई भर्ना गर्न अस्वीकार गरिएको थियो ।

हरेक अस्पताले कोभिड उपचारका लागि छुट्याएका बेडको दैनिक अपडेट स्वास्थ्य मन्त्रालयलाई बुझाउँछन् । जसमा प्रायः आधाजति बेड खाली देखिन्छन् । ‘अस्पतालहरूले मन्त्रालयलाई बुझाएको दैनिक रिपोर्ट हेर्दा बेड खाली देखिन्छन् ।

तैपनि बिरामी किन फर्काइन्छन् भनेर प्रश्न उठेपछि अनुगमन सुरु भएको हो,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा अनुमगन टोलीका प्रमुख डा. रोशन पोखरेलले भने, ‘सोमबार हामीले पाँच अस्पतालको अनुगमन गरेका थियौँ, शिक्षण अस्पतालमा १२ साधारण बेड र दुई आइसियू खाली थिए ।’ यो विषयमा पूर्ण प्रतिवेदन तयार भएपछि कसलाई कस्तो कारबाही गर्ने भनेर मन्त्रालयले निर्णय गर्ने उनले बताए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका स्वास्थ्य संस्थामा २० हजार एक सय ७८ आइसोलेसन बेड छन् । बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ५२ पुग्दा ३१ हजार आठ सय ९८ संक्रमित अस्पतालबाहिरै रहेको सरकारी तथ्यांकले देखाउँछ । जम्मा सात हजार ५४ मात्रै स्वास्थ्य संस्थाको बेडमा छन् । यसरी देशभर १३ हजार एक सय २४ आइसोलेसन बेड खाली छन् । तर, आपत् पर्दा बिरामीले उपचार पाएका छैनन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७