भारतीय सेनाध्यक्ष काठमाडौंमा : चिसिएको सम्बन्ध सुधारको अपेक्षा


२० कार्तिक २०७७, बिहीबार
5fa25b49b3ac9 indian army123 696x326 1

काठमाडौं, २० कार्तिक । तीन दिने औपचारिक भ्रमणका लागि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौंमा छन् ।

नेपाली सेनाको निमन्त्रणामा नेपाल आएका उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी दिइँदै छ । नरवणेको यो भ्रमणसँगै सीमा विवादका कारण नेपाल र भारतबीच चिसिएको सम्बन्ध सुधारको अपेक्षा दुवै देशले गरेका छन् ।

बुधबार भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आएलगत्तै सोल्टी होटल पुगेका उनी धार्मिक भ्रमणमा निस्किएका छन् । उनले धार्मिक भ्रमणका क्रममा नेपाली ढाका टोपी लगएका छन् ।

पत्नी विनासहित उनले बुधबार वसन्तपुरमा जीवित देवी कुमारीको दर्शन समेत गरेका छन् । त्यसलगत्तै उनी पशुपतिनाथको दर्शनका लागि गौशाला पुगेका थिए । नरवणेको नेपाल भ्रमणको मुख्य औपचारिक कार्यक्रम आज (बिहीबार) का लागि तय गरिएको छ ।

बिहीबार (आज) उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न दिने कार्यक्रम तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा सो उपाधि प्रदान गर्ने सेनाले जनाएको छ । उनले त्यहीँ राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

त्यसलगत्तै उनको उच्चस्तरीय औपचारिक भेटघाट सुरु हुनेछ । रनवणेले बिहीबारै समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जंगी अड्डाले जनाएको छ । सो क्रममा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल हुनेछ ।

त्यसअघि उनले बिहीबार बिहानै टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै जंगीअड्डाको निरीक्षण गर्नेछन् । उनले प्रधानसेनापतिसँगको भेटघाटपछि नेपाली सेनालाई सहयोगस्वरूप चारवटा एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् ।

उनी शुक्रबार बिहान आर्मी स्टाफ कलेज शिवपुरीमा गएर शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन् भने त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् ।

नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएपछि विवादित बनेका नरवणेको भ्रमणलाई दुई देशबीचको चिसिएको सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको छ । नेपाल र भारतका अधिकारीहरूले नरवणेको भ्रमणपछि दुई देशबीच कूटनीतिक वार्ताको पहल हुन सक्ने आँकलन गरेका छन् ।

नरवणेले शुक्रबार प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नेछन् । सो क्रममा भारतीय सेनालाई नेपाली भूभागबाट हटाउने विषयमा नेपाली पक्षको औपचारिक प्रस्ताव हुने अपेक्षा लिइएको छ । उनले नेपालस्थित भारतीय दूतावासमा पनि केही भेटघाट कार्यक्रम गर्नेछन् । तर, ककसलाई भेट्नेछन् भन्ने खुलेको छैन । नरवणे भ्रमण सकेर शुक्रबार स्वदेश फिर्ता हुनेछन् ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं उत्रँदै गर्दा कतै कालो झन्डा देखाएर त, कतै कालो बेलुन उडाएर विरोध गरिएको छ । कालापानी तथा लिपुलेक नक्सा विवादमा विवादास्पद अभिव्यक्ति दिएपछि उनीविरुद्ध आलोचना हुँदै आएकामा उनको भ्रमणको विरोधमा बुधबार माइतीघर मण्डलामा २१ वटा साना संघ संगठनले कालो झन्डासहित प्रदर्शन गरेका हुन् ।

यसैगरी ग्रेटर नेपाल नेसनालिस्ट फोरमले ‘नेप्लिज हेट नरवणे, ब्याक अफ इन्डिया’ लेखेको ब्यानरसहित आकाशमा कालो बेलुन उडाएको छ । प्रहरीले ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपालसहितका समूहले विरोध गर्न सक्ने विश्लेषणसहित उनीहरूलाई निगरानीमा राखिरहेको छ ।

यसैगरी, हेमराज थापा, ज्ञानेन्द्र शाही र फणीन्द्र नेपाललाई नरवणेको भ्रमण अवधिभर निगरानीमा राखिएको छ भने नरवणेलाई कालो झन्डाले स्वागत गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७